जनकपुरधाम : पञ्चायतकालीन समय। राजा महेन्द्रले प्रजातन्त्र मासेर आफै सत्ता संचालन गरिरहेका थिए। राजतन्त्रको भविष्यमाथि कसैले प्रश्न उठाउने विषय कल्पनाभन्दा बाहिर थियो। त्यसैबखत हो दुर्गानन्दले झाले राजा महेन्द्रमाथि बम प्रहार गरेको। राजाको हत्या प्रयास गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइयो। त्यतिखेर कसैले पनि परिकल्पना गरेका थिएनन् होला, नेपाल कुनै दिन गणतान्त्रिक हुन्छ भनेर।
तर, मृत्युदण्ड भन्दा ठीक पहिले झाले भविष्यवाणी गरिसकेका थिए - देशमा गणतन्त्र आउँछ।
२०२० सालमा राजा महेन्द्रमाथि बम प्रहार गरेर हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका उनलाई त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा राखिएको थियो। मृत्युदण्ड घोषणापछि उनका परिवारका सदस्य उनलाई जेलमा भेट्न पुगेका थिए। श्रीमती काशीदेवी झा र आमा सुकुमारीदेवी उनको मृत्युदण्डको ठीक एक दिन अघि कारागार पुगेका थिए। अर्थात् २०२० माघ १४ गते।
जेलमा भेट्न पुगेकी आफ्नी श्रीमती र आमालाई उनले भनेका थिए, ‘नरोऊ, गणतन्त्र अब आउँछ। तिमीहरू गाउँ जाऊ।’
झाको उक्त वाणीको ४५ वर्षपछि मुलुक गणतन्त्रमा प्रवेश गर्यो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा घोषणा गरेको हो।
आमासँगको अन्तिम भेटमा दुर्गानन्दले शहीदको आमा भनेर बोलाउने दिन आएको बताएका थिए।
'आमा नरोउ, एक दिन यस्तो आउँछ जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन्,' उनले यसै भनेका थिए।
दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेट गराउनकै लागि गाउँबाट बोलाएर ल्याएका थिए। जेलमा भेट्न गएको बेला उनीहरू रोएका थिए। आमा र श्रीमती रोइरहे पनि दुर्गानन्द झाको अनुहारमा कुनै त्रास थिएन।
फाँसी दिने दिनसम्म दुर्गानन्द झा र काशीदेवी झाको बिहे भएको २ वर्ष मात्रै पूरा भएको थियो। एक नवदुलही, जसको श्रीमानलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। जेलमा पुग्दा काशीदेवी एकदमै भावविह्वल भएकी थिइन्।
काशीदेव झालाई शहीद दुर्गानन्द झाले- ‘दो हँसो का जोडा विछड गयो रे..., गजब भयो रामा जुलुम भयो रे...’ भाकाको विरही गीत सुनाउने गर्थे। काशीदेवी श्रीमानले गाउने गीत सम्झिँदै भन्छिन्, ‘मृत्युदण्ड दिएको ५८ वर्ष भइसक्दा पनि उनले सुनाएका गीत हिजै सुनेको गीतजस्तो लाग्छ।’
१९९९ वैशाख १४ गते दुर्गानन्द झा धनुषाको नगराइन नगरपालिका जटही गाउँमा जन्मिएका हुन्। पिता देवनारायण झा र आमा सुकुमारीदेवी झाका एक मात्र सन्तान हुन् दुर्गानन्द झा। १० कक्षामा पुगेपछि उनको विवाह २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग भयो। दुर्गानन्द झाको बुबाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा झाले अध्ययन अगाडि बढाएका थिए।
उनी अध्ययन गरिरहेकै क्रममा नेपालमा प्रजातन्त्रका लागि संघर्ष चलिरहेको थियो। उमगावँको विद्यालयमा प्रजातन्त्रका लागि आन्दोलन गर्ने आन्दोलनकारीसँग भेट भएको थियो उनको।
एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर प्रजातन्त्रको लागि संघर्षमा लागेका थिए उनी। घरमा एक्लै श्रीमती र वृद्धा आमा हुँदा आवश्यक हेरचाहको कमीले मृत बच्चा जन्मेको थियो। हाई स्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रवासमा बसेर राजनीतिमै बित्ने हुनाले काशीदेवीसँग उनको भेट महिनामा एक दुई पटकभन्दा बढी हुन सकेको थिएन।
२०१७ साल पुस १ गते राजा महेन्द्रले उठाएको निरंकुश कदमविरुद्ध नेपाली कांग्रेसले आन्दोलनको विगुल फुकिसकेको थियो। राजा महेन्द्रको 'कू' विरुद्ध दुर्गानन्द पनि आन्दोलनमा उत्रिए। भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बन्यो।
कडा सुरक्षाका बिच जानकी मन्दिर पुगेका राजा महेन्द्रमाथि बम प्रहार गरे उनले। तर, बम पड्किएन। राजा महेन्द्र चढेको गाडीको सिसामा लाग्यो। झा बम फालेर कडा सुरक्षाका बिच भाग्न सफल भए। भागेर जनकपुरधाममै एक मन्दिरमा बसे। त्यसको भोलिपल्ट फेरि उमगावँ नै फर्केका थिए उनी।
तात्कालीन सरकारले राजाको हत्या गर्ने योजना बनाएर बम आक्रमण गराएको भन्दै विभिन्न व्यक्तिलाई धरपकड गर्न सुरु गर्यो। पक्राउ परेकाहरुलाई चरम यातना दिइयो। यो सुनेपछि भारतमा पुगिसकेका दुर्गानन्द झालाई सह्य भएन। त्यसपछि उनी जयनगरबाट रेल चढेर जनकपुरधामसम्म हिँड्दै आए। जनकपुरधाम नपुग्दै तत्कालीन एसपी मानबहादुर राईको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गर्यो।
पक्राउ परेको भोलिपल्ट झालाई हेलिकप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा लगिएको थियो। गिरफ्तारी पछि उनीमाथि राजद्रोहको मुद्दा चलाइयो।
मृत्युदण्ड दिन मुलुकी ऐन नै संशोधन
सरकारले बम काण्डको अध्ययन गर्नका लागि विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानविन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो। उक्त प्रतिवेदनमा दुर्गानन्द सहित अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिइएको थियो।
तर, ‘ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भन्ने कुरा त्यति बेलाको कानुनमा उल्लेख थियो।’
कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिए। सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए। सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले आयोगको निर्णय सदर गर्यो। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो।
त्यसबेला दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख्न भनिएको थियो। तर, उनले राजासामु नझुक्ने भन्दै आफूलाई मृत्युदण्ड स्वीकार भएको जवाफ फर्काए। माघ १५ गतेका दिन दुर्गानन्द झालाई फाँसी दिइयो।
फाँसी दिइएपछि तत्कालीन प्रशासनले परिवारलाई जानकारी दिएको थियो। तर, उनको शव भने दिइएन। दुर्गानन्दकी आमाले पञ्चायती सरकारसँग छोराको लास मागे। तर दिइएन। पछि परिवारले कुशको शव बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो।
नेपाली कांग्रेसबाट राजनीतिको सुरुवात गरेका दुर्गानन्द झाले गणतन्त्रका लागि प्राणको आहुति दिए पनि उनको योगदानले गणतन्त्रपछि निर्माण भएका सरकारहरुले सम्मान गर्न सकेन। कांग्रेस पटकपटक सरकारको नेतृत्वमा पुग्दा समेत उनलाई शहीद घोषणा गरिएन। अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई शहीद घोषणा गरियो। गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढेका दुर्गानन्द झाले शहीदको सम्मान पाउनका लागि ५२ वर्ष लामो प्रतीक्षा गर्नुपर्यो।