PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेतृत्वविहीन बनेको कांग्रेसका भ्रातृ संगठनबारे महामन्त्री शर्मा : यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ



नेतृत्वविहीन बनेको कांग्रेसका भ्रातृ संगठनबारे महामन्त्री शर्मा : यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठनहरु अहिले लथालिंग अवस्थामा छ। मुल पार्टीको महाधिवेशन भए पनि नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत संगठन नेतृत्वविहीन अवस्थामा छन्।

१४ औं महाधिवेनबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा चुनिएसँगै नेविसंघ नेतृत्वबिहीन छ। नैनसिंह महर नेतृत्वले महाधिवेशन गर्न नसकेपछि ढुंगानालाई तदर्थ समितिको नेतृत्व दिइएको थियो। उमेर हदको विवादलगायत विभिन्न कारण नेविसंघको महाधिवेशन हुन सकेन।

यता तरुण दलका अध्यक्ष जितजंग बस्नेत पनि केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्। लामो समयदेखि तरुण दलको पनि महाधिवेशन हुन सकेको छैन।

यसैबारेमा नेविसंघका नेताहरुले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको ध्यानाकर्षण गराएका छन्। नेविसंघका नेता कार्यकर्तालाई महामन्त्री शर्माले नेविसंघलगायतका पार्टीका भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए।

महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको बताए।

‘भातृ संस्थाका समस्याहरु छन्। नयाँ आएका महामन्त्री कहाँ छन? के छ? हाम्रो बारेमा के सोचिरहेका छन्? भन्ने कुराहरु सामाजिक सञ्जालमा समेत आईरहेका छन्। तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरुको समस्या एकैचोटी समाधान हुँदैन। प्रक्रियामा जान्छ,' सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग शर्माले भने, 'बाहिर धेरै बोलेर समाधान हुँदैन। मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरु दिएको मान्छे हुँ। अहिले पनि म महामन्त्री भएपनि धेरै बोलेको छैन। बोल्ने वाला पनि छैन। त्यसकारण तपाईहरुको ईस्यूको बारेमा अहिले हामी छलफल गरिराखेका छौं। खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ।'

शर्माले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको दाबी गरे। नेविसंघका पूर्वअध्यक्ष समेत रहेका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको तर्क गरे।

महामन्त्री शर्माले आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्‍याए। उनले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए। त्यस अवसरमा विद्यार्थी नेताहरुले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell