PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाल भर्सेस मरिसस : तनावपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित



नेपाल भर्सेस मरिसस : तनावपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौं : नेपाल र मरिसस बिचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १-० को गोलअन्तरले जित निकालेको हो।

खेलको पाँचौं मिनेटमा दर्शन गुरुङको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो। त्यसपछि खेलको दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। आशिस लामाले पुजन उपरकोटीलाई पास दिए र उनको प्रहारलाई गति दिँदै श्रेष्ठले गोल गरेका थिए।

१२ औं मिनेटमा एन्डी सोफीको प्रहार गरेको पेनाल्टी किरण चेम्जोङले बचाए। इन्ज्युरी समयमा काउन्टरमा मरिससले बनाएको अवसरलाई चेम्जोङले बिफल बनाएका थिए।

दोस्रो हाफ भने तनावपूर्ण रहेको थियो। ६० औं मिनेटमा खेलाडी बिचमा घम्साघम्सी समेत परेको थियो। त्यस लगत्तै मनिष डाँगीको प्रहार गोलपोस्टमाथिबाट गएको थियो। ६५ औं मिनेटमा अन्जन विस्टको पासमा पाएको अवसरमा डाँगी फेरि चुकेका थिए। ६६ औं मिनेट एन्डी सोफीको कडा प्रहार किरण चेम्जोङले बचाएका थिए।

७० औं मिनेटमा फेरि तनावको अवस्था हुँदा धरपकड कै अवस्था आइपुगेको थियो। खेल करिब ५ मिनेट प्रभावित हुन पुग्यो। ७९ ‍औं मिनेटमा फेरि खेल तनावपूर्ण बन्न पुग्यो। तनावपूर्ण अवस्थाका बिच मरिससका दुई खेलाडीले रेडकार्ड ब्यहोर्दा ९ जनामा समेटिएको थियो। यस्तै, नेपालका पुजन उपरकोटीले समेत रेड कार्ड पाए। 

खेलको निर्धारित समयको अन्तिम ५ मिनेट बाँकी छँदा बत्ती गएपछि फेरि खेल प्रभावित बनेको थियो। आयोजकले पहिला नै वैकल्पिक व्यवस्था नगर्दा खेल करिब १० मिनेट रोकिएको थियो। खेलको अन्त्यतिर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरेका थिए।

खेलमा दर्शकहरुको उल्लेखनीय उपस्थिति छ। यसअघि शनिवार भएको पहिलो खेलमा नेपालले मरिससमाथि १-० गोलअन्तरको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell