युक्रेनको सीमामा ठूलो संख्यामा रसियाको सेना तैनाथ भएपछि अमेरिका र युरोपेलीलगायत पश्चिमा देशहरुले रसियाले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। केही साता अघिमात्रै रसियाले करिब १ लाख सैनिकलाई युक्रेनको सीमामा तैनाथ गरेको हो। सीमामा हतियार र ट्याङ्कसहितको सेना तैनाथ भएपछि अहिले युरोपभर तनाव बढेको छ।
रसियाले युक्रेनमा आक्रमण गरिहाल्छ भनेर युक्रेनी नागरिकहरुले त्यति विश्वास गरिसकेका छैनन्। तर उनीहरु रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अप्रत्यासित स्वभावबारे भने सजग छन्। त्यसैले पनि भेट्रान सैनिकलगायतका मानिसहरु युद्धको तयारीमा विभिन्न युद्ध-अभ्यासमा लागेका छन्।
युक्रेनको राजधानी कीभलाई घेरा हाल्नेसम्मको पुटिनको सम्भावित चालबारे पश्चिमी गुप्तचर संस्थाहरुले चेतावनी दिइरहेका छन्। तर, आतंक फैलिने सम्भावनालाई मध्यनजर गर्दै युक्रेनी अधिकारीहरुले भने यस कुरालाई अस्वीकार गरेका छन्।
सोही समय शहरका विद्यालयहरुमा युद्ध अभ्यास शुरु भइसकेको छ। सोसल मिडियामा आपतकालिन अवस्थामा भाग्नु परे अत्यावश्यक सामान कसरी तयारी राख्ने भन्ने गाइडबुकहरु पनि प्रशस्तै पाउन थालेको छ। अनि केही मानिसहरुले त युद्ध भइहाले कुन बाटोबाट भाग्ने भनेर योजना पनि बनाइसकेका छन्।
भेट्रान स्वयंसेवी लडाकु डिमिट्रो डुबासलाई लागेको थियो अब उनले कुनै युद्ध लड्नु पर्ने छैन। अहिले आएर अमेरिकाले सम्भावित रसियाली आक्रमणबारे सचेत गराएपछि भने उनले त्यसलाई बेवास्ता गर्न सकेका छैनन्।
‘गत हप्ता मलाई यो कुराले धेरै विचलित बनायो, जसकारण म मनोपरामर्शदाताकोमा समेत जानुपर्यो,’ उनले सुनाए।
युक्रेनका पश्चिमा समकक्षीहरुले सीमामा रसियाली सेनाको चहलपहलतिर संकेत गरेको निकै समय भइसकेको छ। त्यसपछि सैन्य विश्लेषकहरूले पुटिनका सेनाहरू कीभतर्फ कसरी अगाडि बढ्न सक्छन भन्नेसम्मका अड्कलबाजी शुरु गरिसकेका छन्।
‘रसियाले जतिबेला पनि केही दिनको अन्तरालमै सेनाहरु सीमामा पठाउन सक्छ, र आक्रमण गर्न सक्छ। अहिलेको अवस्थामा पनि कुनै फरक छैन,’ कीभका बासिन्दा डिमिट्रो भन्छन्।
सन् २०१४ ताका उनी सेल्सको काममा थिए। त्यतिबेला रुस-समर्थित सेनाहरूविरुद्धको भारी लडाइँमा उनी पनि सामेल भएका थिए। त्यसपछि २०१५ देखि औपचारिक रुपमा युद्धविराम भएको छ। तर, अवस्था बेलाबेलामा बिग्रिरहन्थ्यो र अचानक हिंसा भड्किने सम्भावना बनिरहेको थियो।
त्यसबीच, डिमिट्रो भने सामान्य नागरिकको जीवनयापनमा फर्किएका थिए। त्यतिबेलाको उनको हतियारहरु बाकसमा बन्द छन्, र त्यो बाकसले अहिले लिभिङ रुममा कफी टेबलको शोभा दिइरहेको छ। उनको मन अहिले शान्त छ तरपनि उनी सम्भावित युद्धको तयारीबारे भने सोचिरहेका छन्।
अहिले युद्धको तयारीमा केही वृद्ध व्यक्तिहरु पनि लागेका छन्। कीभको बाहिरपट्टी पर्ने उडल्यान्डमा रहेको कन्क्रिट फ्याक्ट्रीको भग्नावशेष भएको स्थान उनीहरुको अभ्यासस्थल हो। उनीहरुसँग औपचारिक सम्झौता गर्न ति पुरुषहरू धेरै वृद्ध छन्, तर सैन्य प्रशिक्षकहरू उनीहरूलाई फर्काउन भने चाहँदैनन्।
‘रसियाले तत्काल आक्रमण गर्ला भन्ने मलाई चाहीँ लाग्दैन। किनकी हामीसँग पश्चिमा देशहरुको हतियारलगायतको सहयोग छ’, युद्ध-अभ्यास गरेर विश्राम गर्दैगर्दा ६१ वर्षीय भासिल नाजारोभले भने।
यो उनको पहिलो चरणको अभ्यास हो। त्यसैले उनले अहिले काठको बन्दुक लिएर अभ्यास गरिरहेका छन्।
‘उनीहरु कीभसम्म आइपुग्लान् भन्ने कुरामा मलाई विश्वास छैन तर हामी त्यसको लागि पनि तयार रहनुपर्छ,’ उनले भने।
‘पश्चिमाहरुले कडा प्रतिबन्ध लगाउने कुराले पनि पुटिन पछि हट्ने छन्,’ अभ्यासमा सहभागी अर्का युक्रेनी सेर्ही कालिनिनले समर्थन जनाए।
६४ वर्षीय कालिनिनले अनिवार्य सैनिक सेवाबाट अवकाश पाएको केही दशक भइसकेको छ। त्यसकारण पनि उनी आफ्नो सैन्य क्षमतालाई पुनर्ताजगी गर्न चाहन्छन्।
‘दुश्मन हाम्रो सीमामा आइसकेको छ’, उनी भन्छन्, ‘त्यसैले सबैजना तयार रहनुपर्छ।’
एक निजी टेलिभिजन च्यानल प्रिएम्यी टिभीमा करिब एक लाख रसियाली सेना युक्रेनको सीमामा तैनाथ भएको विषय प्रमुख हेडलाइन बनेको छ। कार्यक्रम प्रस्तोता टारास बेरेजोभेट्सले रसियाली राष्ट्रपति पुटिनलाई ‘अप्रत्यासित’ भनेर टिप्पणी गर्ने गरेका छन्। युक्रेन कहिल्यै पनि सार्वभौम छैन भन्ने पुटिनको विचारप्रति पनि उनी चिन्ता व्यक्त गर्छन्।
‘पुटिनले हामीलाई आफ्नो स्वतन्त्र निर्णयको अधिकारबाट वञ्चित गर्न चाहन्छन्, सोभियत नेताहरूले दशकौँसम्म पूर्वी युरोपमा गरे जस्तै,’ उनले भने।
‘२०१४ मा हामीले आफ्नो निर्णय गर्यौँ र त्यो स्पष्ट छ कि हामी रसियाली साम्राज्यको कुनै हिस्सा हुन चाहँदैनौँ’, उनले थपे, ‘युरोपेली युनियन वा नेटोमा समावेश हुने कुनै सम्भावना नभएपनि पश्चिमी समुदायको हिस्सा हुने हाम्रो लक्ष्य हो। जहाँ कानुनको शासन र अभिव्यक्ति स्वतन्त्रता छ। र, यी कुराको लागि युक्रेनीहरू युद्धमा होमिन पनि तयार छन्।’
पश्चिमी गुप्तचर संस्थाहरुको रिपोर्टका बावजुद डिमिट्रो डुबास र उनका साथीहरुलाई युक्रेनको भविष्यको लागि युद्ध नै गर्नुपर्ने खतरा नजिकै आइसक्यो भन्ने कुराको त्यति चिन्ता छैन। यद्यपि, उनीहरुले आइपरिहालेको अवस्थामा आफ्नो परिवारलाई सुरक्षित स्थानमा कसरी पुर्याउने भन्ने योजना भने बनाइसकेका छन्। अनि युद्धको बेलामा कहाँ भेट्ने र हातहतियारको प्रबन्ध कसरी मिलाउने भन्ने योजना पनि बनिसकेको छ।
यस्तो तयारी भइरहेपनि उनीहरु यतिबेला विशेषगरी आफ्नो दैनिक व्यापार व्यवसायमै केन्द्रित छन्। आफ्नो नियन्त्रण बाहिर रहेको भूराजनीतिक शक्तिको बारेमा उनीहरु त्यति धेरै चिन्ता लिन चाहँदैनन्।
‘एउटा प्रख्यात मिम छ : युक्रेनको लागि सबैभन्दा ठूलो टाउको दुखाई भनेको रसियाको छिमेकी हुनु हो,’ डिमिट्रोले भने।
अर्का भेट्रान स्वयंसेवी आर्टेमले सन् १९८६ को चेरनोबिल न्युक्लियर डिजास्टरदेखि दुई पटकको क्रान्ति र युद्धले देशमा ल्याएको संकटहरुबारे बेलिविस्तार लगाउँछन्।
‘युक्रेनमा सबै कुरा संकटका बीच रहनु सामान्य जस्तै भइसकेको छ,’ आर्टेमले भने।
‘यदि हरेक दिन हरेक बखत युद्धकै बारेमा सोचियो भने पागल भइहालिन्छ नि,’ अर्की सहकर्मी युलियाले सहमति जनाइन्, ‘हामीले जति चाहेपनि रसियालाई टपक्क टिपेर कतै लगेर राख्न मिल्दैन, मिल्ने भए त त्यसै गर्थ्यौँ। उ हाम्रो छिमेकी हो, र त्यसलाई हामी नकार्न सक्दैनौँ।’
बीबीसी अंग्रेजी संस्करणमा प्रकाशित सामग्रीको भावानुवाद।