PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भोलिबाट मौसममा सुधार आउने : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान



भोलिबाट मौसममा सुधार आउने : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : शुक्रवार रातिबाट जारी वर्षा देशका विभिन्न स्थानमा आज पनि जारी रहेको छ। हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले मौसम सुधार हुन नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल ४ प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। 'हाल प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ,' शनिवार बिहान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

शुक्रवार कति भयो वर्षा?

महाशाखाले जारी गरेको मौसमी विवरणअनुसार हिजो काठमाडौँमा ४१ मिलिमिटर वर्षा भयो। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको थियो। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको हो। काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले निकै जाडो महशुस गरिएको थियो।

शुक्रवार सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भयो। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको महाशाखाले जनायो।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज शनिवार दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनायो। केही प्रदेशमा भने वर्षा जारी रहनुका साथै हिमपातसमेत हुनेछ। 'प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ,' बुलेटिनमा भनिएको छ, 'देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।'

 आज राति प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतवार मौसममा सुधार आउने संकेत देखिएको छ। आइतवार दिनभर देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने देखिएको पुर्वानुमान महाशाखाले जनायो।

सोमवार मौसम सफा रहे पनि केही उच्च पहाडी तथा हिमाली भुभागमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। 'प्रदेश नं १, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ,' मौसम बुलेटिनमा भनिएको छ, 'देशका मध्य तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell