PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमसीसी पास नभए परिणाम गम्भीर हुनसक्ने बाबुरामको चेतावनी : प्रचण्डमाथि आक्रोश 'भित्र खाओवाद, बाहिर माओवाद!'



एमसीसी पास नभए परिणाम गम्भीर हुनसक्ने बाबुरामको चेतावनी : प्रचण्डमाथि आक्रोश 'भित्र खाओवाद, बाहिर माओवाद!'

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), अमेरिकी परियोजना पारित नभए त्यसको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिएका छन्। आइतवार साँझ सामाजिक सञ्जालमा बाबुरामले उक्त चेतावनी दिएका हुन्।

सर्वसम्मतिमा एमसीसी पारित गराउनुपर्ने पक्षमा धारणा व्यक्त गर्दै आएका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि समेत कटाक्ष गरेका छन्। आइतवार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीको विषयमा छलफल गर्न बालुवाटारमा बैठक राखेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डसहित गरिएको छलफलमा प्रचण्डले एमसीसीका लागि थप समय मागेका थिए।

यही विषयमा आक्रोश पोख्दै बाबुरामले भनेका छन्, 'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! भित्र खाओवाद, बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुदैन, तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!'

पछिल्लो समय एमसीसी पारित गर्नुपर्ने समय घर्किन लागेको भन्दै परियोजनाले चाँडो निर्णय गर्न सरकारलाई दबाव दिइरहेको छ। प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन चौतर्फी प्रयास गरे पनि प्रचण्डका कारण पार लाग्ने स्थिति भने देखिँदैन। जसका कारण सत्तारुढ गठबन्धनमा समेत किचलो हुने देखिएको छ। प्रतिपक्षी एमालेले एकीकृत समाजवादीलाई कारण देखाउँदै संसद अवरुद्ध गराउँदै आएको छ। जसले गर्दा एमसीसी संसद्मा कहिले टेबल हुने हो अनिश्चित बनेको छ। सडक र सामाजिक सञ्जालमा अहिले एमसीसीको चर्को विरोधसमेत हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell