PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हिजाब प्रतिबन्धबारे विभाजित फ्रान्स, महिला खेलाडी भन्छन् : मैले लगाउने पहिरन र धर्मबारे उनीहरुले निर्णय गर्ने होइन



हिजाब प्रतिबन्धबारे विभाजित फ्रान्स, महिला खेलाडी भन्छन् : मैले लगाउने पहिरन र धर्मबारे उनीहरुले निर्णय गर्ने होइन
फोटोहरु : CNN

ममा डियाकिटे २३ वर्षकी भइन्। उनले फुटबल खेल्न थालेकै १० वर्ष भइसक्यो। तर, फ्रेन्च सिनेटमा अघि बढाइएको एक प्रस्तावका कारण उनी चिन्तित छिन्। उक्त प्रस्तावमा खेलका क्रममा हिजाब लगाउन नपाउने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव कानुन बनेको खण्डमा उनको फुटबल यात्रा टुंगिन सक्छ। पेरिसमा रहेका हिजाब लगाउने युवा खेलाडीहरुको अभियान ‘लेस हिजाबेयुसेस’की सदस्य रहेकी उनले भनिन्: यो कानुन आउनु भनेको मेरा लागि फुटबल सकिए सरह हो।

जनवरीको सुरुमा फ्रान्सको माथिल्लो सदन सिनेटमा लेस रिपब्लिकन पार्टीका सिनेटरहरुले हिजाब 'देखावटी धार्मिक प्रतीक' भएको तथा खेलाडीको सुरक्षाका हिसाबले पनि उपयुक्त नभएको भन्दै खेलकुद प्रयोगितामा प्रयोग गर्न दिन नहुने प्रस्ताव अघि सारेका थिए। सिनेटमा भएको मतदानमा १६० जनाले पक्षमा मत खसाल्दा प्रस्तावको विपक्षमा १४३ जनाले मत राखेका थिए। यो प्रस्ताव त्यहाँको तल्लो सदन ‘नेशनल एसेम्बली’मा अहिले विचारधिन छ।

लेस रिपब्लिकन सिनेटर ज्याकुलिन ब्रिनिओले हिजाबको प्रयोगमा प्रतिबन्ध लगाउन सरकारले आँट गर्नुपर्ने बताउँछिन्। उनले शिक्षा र खेलकुदमा क्षेत्रमा हिजाबको प्रयोगले ‘इस्लामिक पडक’ दर्साउने दाबी गरिन्।

'देशको एकतालाई बलियो बनाउन हामीले यो आँट गर्नैपर्छ,' उनले भनेकी छिन्,'खेलकुद र विद्यालय त्यस्ता दुई स्थान हुन् जसलाई हामीले जोगाउनु पर्छ। खेलकुद यस्तो क्षेत्र हो जहाँ धनी, गरिब, श्वेत या अश्वेत, आस्थिक या नास्तिक सबैले सँगै अभ्यास गर्न सक्छन् र समय बिताउन सक्छन्।'

फ्रान्समा करिब ५० लाख मुस्लिम जनसंख्या छ। यो संख्या युरोपमै सबैभन्दा बढी हो। यति धेरै जनसंख्या रहेको मुलकको एक समुदायले लगाउने पहिरनमाथि प्रश्न उठाउँदै उनले थप भनिन्,'हामीले गर्न चाहेको भनेको ओलम्पिक चार्टर्डलाई लागू गराउन खोजेको हो। जसको धारा ५० मा खेलकुद राजनीति र धर्मसँग सम्बन्धित नभएको स्पष्ट छ। मलाई लाग्छ खेलकुद र खेलकुद गतिविधिमा तथस्ठता कायम राख्नुपर्छ।'

फ्रान्समा खेलका क्रममा हिजाबमाथि प्रतिबन्धको बहस भइरहँदा यसअघि ओलम्पिक खेलहरूमा धेरै खेलाडीहरूले हिजाबमै प्रतिस्पर्धा गरेका छन्। र, मुस्लिम महिलाहरूलाई उनीहरूको टाउको छोपेर सुरक्षित रूपमा प्रतिस्पर्धा गर्न अनुमति दिन विभिन्न ‘हेड स्कार्फ’ का डिजाइनहरू बनाइएका छन्।

फ्रान्सका मुस्लिम महिलाहरूले पहिलेदेखि नै निश्चित ठाउँहरूमा के लगाउन पाउने या नपाउने भन्ने प्रतिबन्धको सामना गरिरहेका छन्। फ्रान्समा अप्रिल २०२१ देखि सडक, सार्वजनिक यातायात, पसल, अस्पताल र सिनेमाघर लगायत सार्वजनिक स्थानहरूमा पूर्ण इस्लामिक बुर्का (बुर्का र निकाब) लाई प्रतिबन्ध लगाइएको छ। जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्कलगायत अन्य युरोपियन देशहरूले फ्रान्सको उक्त कदमलाई पछ्याउँदै हिजाबको प्रयोगमा स्थान हेरेर प्रतिबन्ध वा आंशिक प्रतिबन्ध लगाएका थिए।

हिजाबले महिलाहरुको कपाल ढाक्ने ‘हेडस्कार्फ’ हो। फ्रान्सका सार्वजनिक विद्यालय, माध्यमिक विद्यालय र उच्च विद्यालयहरू बाहेक फ्रान्सका सबै सार्वजनिक क्षेत्रहरूमा यो लगाउन पाइन्छ। सन् २००४ को कानूनले विद्यालयहरूमा 'स्पष्ट' मानिने धार्मिक प्रतीकहरू लगाउन निषेध गरेको थियो। जसकारण हिजाब विद्यालयमा प्रतिबन्धित गरियो।

हिजाब बहसबिच २३ वर्षे खेलाडी डियाकिटे खेलाडीहरुले टाउकोमा के लगाउँछन् भन्दा पनि उनीहरुको प्रतिभालाई चिन्नु पर्ने तर्क गर्छिन्।

अहिले कतिपय राजनीतिज्ञहरू खेलकुद क्षेत्रमा धार्मिक विषयवस्तु घुसाउन लागिपरेका छन्। उनीहरु हिजाब प्रतिबन्ध गर्ने प्रयासमा कडाइका लागि देखापरेका छन्। फ्रान्सेली फुटबल संघले त महिलाहरूलाई आधिकारिक खेल र प्रतियोगिताहरूमा हिजाब लगाउन प्रतिबन्ध गरिसकेको छ। जबकी यही प्रकरणमा फिफाले संघलाई सन् २०१४ मा कारवाही पनि गरेको थियो।

गत हप्ता सिनेटमा भएको छलफलका क्रममा प्रस्तावित प्रतिबन्धसहितको बिल असहमतिका बिच अहिलेकै स्वरुपमा पारित हुन भने गाह्रो रहेको निष्कर्ष निकालिएको थियो। अब उक्त बिललाई फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा प्रस्तुत गरिनेछ। त्यही नै यो बिलका बारेमा अन्तिम फैसला हुनेछ।

फ्रान्समा धर्मनिरपेक्षतासँग सम्बन्धित कार्यमा लागिरहेको ‘भिजि लिसाइत’ की सह-संस्थापक निकोलस क्याडेनीका अनुसार केही वर्षयता फ्रान्समा आफूलाई धर्मबाट टाढा राख्न चाहने र धर्मको उत्थान गर्न चाहने बिच अन्तरद्वन्द्व सिर्जना भएको छ। खासगरी इस्लामलाई लिएर यहाँ ठूलो वैचारिक द्वन्द्व छ।

क्याडेनले बताएअनुसार राजनीतिको एउटा वर्ग धर्मनिरपेक्षताले धार्मिक रुपमा अझ राम्रो गर्न खोजिरहेको तर जनताले त्यसलाई गलत बुझेको ठान्छ। फ्रान्समा धर्मनिरपेक्षताले यति जरा गाडेको छ कि धेरैले विश्वास गर्छन् : राष्ट्रिय पहिचानको अगाडि कुनै पनि कुरा, कसैकोपनि धर्म, आउनु हुँदैन।

लैंगिक ‘इस्लामोफोबिया’

आलोचकहरुले भने संसदमा पेश गरिएको यो प्रस्तावलाई लैंगिक ‘इस्लामोफोबिया’ भनेका छन्। हिजाव प्रतिबन्ध लगाउने प्रस्ताव खेलमा ‘तटस्थता’ कायम नराख्ने उनीहरुको मत छ। पोशाकलाई लिएर बहस भइरहेको छलफल इस्लामविरुद्धको पूर्वाग्रह (इस्लामोफोबिया) भएको दाबी उनीहरुको छ।

यस वर्ष फ्रान्समा राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा आएको उक्त प्रस्ताव धर्मनिरपेक्षता, अभिव्यक्ति स्वतन्त्रता र धार्मिक समानताबारे बृहत्तर राजनीतिक क्षेत्रमा चलिरहेको बहसको एक हिस्सामात्र भएको भन्दै आलोचना भइरहेको छ।

सीबीसी स्पोर्टसका सिनियर कन्ट्रिब्युटर शीरेन अहमद धर्मनिरपेक्षता र उदारवाद चाहन्छौं भन्नेले मैदान प्रवेश गर्नुअघि ‘क्रस’ प्रदर्शन गर्ने पुरुष खेलाडीमा भने चासो नदिएको तर्क गर्छिन्।

'उनीहरु फ्रेन्च लिगमै पनि यसो गर्ने फुटबलरमा यो लागू गर्दैनन्। यसका लागि नियम खै? पेरिस सेन्ट जर्मेन (पीएसजी) आधा खेलाडीले पिचमा जानु अघि क्रसको साइन बनाउने गर्छन्' उनी भन्छन्, 'यो जानीजानी गरिएको बहिष्करण हो।'


इस्लामाफोबियाको विरोधमा अक्टोबर २७, २०१९ मा पेरिसमा उत्रेको जुलुस।


फ्रान्सको महिलावादी र रंगभेदी विरोधी संस्था ‘ललाब’की प्रमुख फतिमा बेन्ट भन्छिन्,  ‘हिजाबमा प्रतिबन्ध लगाउने तर्कसँग मुस्लिम महिलाहरूको मुक्त वा खेलकुदसँग कुनै सरोकार छैन।’

'यो बहस औपनिवेशिक युरोपेली दृष्टिकोणबाट प्रेरित छ जहाँ मुस्लिम महिलाहरूलाई सधैं बचाउन पर्ने महिला’को रूपमा चित्रण गरिन्छ,' उनी अगाडि भन्छिन्, 'यो एक युरोपेली औपनिवेशिक शक्तिको कथाको निरन्तरता हो जसले उनीहरुको प्रभुत्वलाई जोड दिन्छ। यसले मुस्लिम महिलाहरूलाई आत्मसमर्पण गराउन बाध्य बनाइ उनीहरूलाई कमजोर वर्गको रूपमा मान्दछ।'

फ्रान्सेलीहरूले १७औं शताब्दीदेखि मुख्यतया अफ्रिका र दक्षिणपूर्वी एसियामा उपनिवेश खडा गरे। दोस्रो विश्वयुद्धपछि विश्वभरि स्वतन्त्रता आन्दोलनहरूले बल प्राप्त गरेपछि भने फ्रान्सले उपनिवेशमा रहेको धेरै हिस्सा गुमायो।

फ्रान्सेली राष्ट्रपति इम्यानुल माक्रोनले उपनिवेशकाल ‘ठूलो गल्ती’ भएको बताइसकेका छन्। उनको पार्टी ‘एन्टी हिजाब अमेन्डमेन्ट’ प्रस्तावको विपक्षमा छ। नेशनल एसेम्बलीले उक्त बिल अस्वीकार गरिसकेको छ। फेरि पनि संशोधन अस्वीकार हुने सम्भावना उच्च छ। माक्रोनको पार्टी खेल क्षेत्रमा हिजाब प्रतिबन्ध लगाउने पक्षमा छैन्। खेलकुद मन्त्री रोक्साना मारासियिनु पनि त्यसको विरुद्धमा छन्। बेन्ट भने संशोधन प्रस्ताव पारित लागू नभए वा त्यसमा मतदान नभएपनि त्यसको असर भने रहने बताउँछन्। उनले हाल भइरहेको बहसले ‘इस्लामोफोबिया’लाई टेवा दिएको र मुस्लिम महिलाको ‘अमानविकरण’ गरेको बताउँछन्।

शारीरिक गतिविधिमा विभिन्न धार्मिक आस्था राख्ने समूहहरूको उपस्थिति बारे तथ्यांक बिरैले पाउन सकिन्छ। अझ मुस्लिम महिलाहरु 'गलत धार्मिक व्याख्या वा चेतनाको कमी' का कारण खेलकुदमा तुलनात्मक रूपमा कम सहभागी हुन्छन्। विशेषगरी 'सिंगल सेक्स' प्रावधानको अभावले युवा मुस्लिम महिलाहरूलाई खेलकुद र शारीरिक गतिविधिबाट टाढा राख्ने बेलायतको महिला खेलकुद फाउन्डेसनले जनाएको छ।

'जब म हाई स्कूलमा थिएँ मैले हरेक पटक स्कूल जाँदा मेरो हिजाब फुकाल्नुपर्थ्यो। र, यो एक वास्तविक अपमान थियो,'लेस हिजाब्युसका सह-अध्यक्ष फौने दियावाराले भनिन्,'खेलकुद सबैका लागि खुला हुनुपर्छ। यसमा एकता र विविधताको पर्यायवाची मानिन्छ।'


फ्रान्सका राष्ट्रपति इम्मानुएल।


उनी अगाडि भन्छिन्: हिजाब राजनीतिक झण्डा हो भनेर सोच्न बन्द गर्नुपर्छ। जब हामी ९० मिनेटको लागि फुटबल खेल्न आउँछौं, हामी केवल बलको बारेमा सोच्दछौं, र बललाई लात हान्न सक्छौं। हामी केही माग गर्न वा आफ्नो धर्मको प्रचार गर्न त्यहाँ छैनौं।

प्रस्तावित कानूनले खेलकुदमा मुस्लिम महिलाहरूको पहुँचलाई थप रोकेको तर्क विश्वभरकाभरका समालोचकहरु गर्छन्।

'म इंग्ल्याण्डको अन्तर्राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने पहिलो बंगलादेशी महिला बन्ने आशामा थिएँ। तर दुर्भाग्यवश त्यस्तो भएन,'बेलायतस्थित पूर्व व्यवसायिक फुटबल खेलाडी लिपा नीशाले भनिन्, 'मेरा सपनाहरू छोट्याइए।'

सन् २००७ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेलका क्रममा हिजाब लगाउने रोकेको थियो यद्यपि सन् २०१४ मा उक्त नियम फुकुवा पनि गर्‍यो। त्यस्तै अन्तर्राष्ट्रिय बास्केटबल महासंघले सन् २०१७ बाट खेलाडीलाई खेलका क्रममा शिर ढाक्न अनुमति दिएको थियो।

नीशालाई अन्ततः फुटबल खेल्न अनुमति दिइयो, तर खेलमा उनको नकारात्मक अनुभवले उनले व्यावसायिक रूपमा खेल्ने सपना त्याग्न बाध्य भएको बताइन्।

उनले १६ वर्षको उमेरमा एउटा अर्धव्यवसायिक लिगमा खेल्दाको अनुभव सुनाइन्।

'विपक्षीका अभिभावकहरूले हवाइजहाजको आवाज निकाल्न थाले, मलाई उक्साउन थाले र अन्य आवाजहरू गर्न थाले जसको बारेमा म वास्तवमा उल्लेख पनि गर्न चाहन्नँ। तर दुर्भाग्यवश, तिनीहरू मेरो जीवनकालमा भएका आक्रमणहरूसँग सम्बन्धित थिए,' उनले भनिन्।

१५ वर्षको उमेरमा फ्रेन्च फुटबलको मैदान छाडेकी दिवारा भन्छिन्: यो 'कानुन'बिना पनि खेलकुदमा केही गर्न चाहने महिलाहरूको लागि वास्तविक रुपमा कठिन थियो। हामीसँग धेरै यस्ता केटीहरू छन् जसले हामीलाई अझै खेल्न चाहेको बताउँछन्। तर मलाई थाह छैन हिजाब लगाएर यो सम्भव छ या छैन।

'फ्रान्स जस्ता देशहरूले महिला सशक्तिकरणको कुरा गर्छन्। तर मुस्लिम महिलाहरूको कुरा गर्दा उनीहरू हिजाब प्रतिबन्धमार्फत मुस्लिम महिलाहरूलाई सीमान्तकृत गरेर अझ पछि हटिरहेका छन्,' वर्ल्ड हिजाब डेकी संस्थापकमध्येकी नाज्‍मा खान भन्छिन्।'

अहमेद यस सन्दर्भमा हाल विश्वभर चर्चामा रहेको ‘फेमिनिजम’ र ‘फेमिनिस्ट मुभमेन्ट’ माथि पनि आक्रामक सुनिन्छिन्।

'यो कस्तो नारीवाद हो जसले महिलाको आवाजलाई बेवास्ता गरिरहेको छ ? यो दमनकारी प्रवृत्ति हो। तपाईंले कसैको लागि उनीहरूको धार्मिक विश्वास के हो भनेर निर्णय गर्न सक्नुहुन्न,'अहमद भन्छिन्, 'यदि तिनीहरू शालिन लूगा लगाउन असमर्थ छन् भने, मुस्लिम महिलाहरूले खेलकुदमा भाग लिन नपाउने छनौट गर्न सक्छन्। किनभने यसले उनीहरूको धार्मिक विश्वासको विरोध गर्छ वा उनीहरूको सुरक्षालाई असर गर्छ।'

उनले अगाडि भनिन्: मलाई लाग्छ, यो समाजकै लागि लज्जाको विषय हो।

-सिएनएनमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell