PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रचनाको स्वरमा 'न बिर्से तिमीलाई' को कभर आएपछि अन्जुको प्रतिक्रिया : मेरै आवाजमा रिरेकर्ड गर्ने कुरा थियो



रचनाको स्वरमा 'न बिर्से तिमीलाई' को कभर आएपछि अन्जुको प्रतिक्रिया : मेरै आवाजमा रिरेकर्ड गर्ने कुरा थियो

काठमाडौं : एक हप्ताअघि ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको कभर गीत सार्वजनिक भयो। कुनै बेला अन्जु पन्तको स्वरमा चर्चित बनेको गीतमा यसपटक रचना रिमालले स्वर दिएकी छन्।

रचनाको स्वरमा गीत सार्वजनिक भएसँगै संगीतवृत्तमा आलोचना शुरु भएको छ। त्यो पनि अन्जुको नाम कतै मेन्सन नभएको भन्दै। कतिले अन्जुको स्वरलाई रचनाले न्याय दिन नसकेको तर्क प्रस्तुत गरेका छन् भने कतिले रचनालाई साथ दिएका छन्।

सामाजिक सञ्जालमा आफ्नो पक्षमा लेखिन थालेपछि अमेरिकामा रहेकी अन्जुले फेसबुकबाटै आफ्ना धारणा राखेकी छिन्। पुरानै शब्द र संगीत रहेको नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरि अफिसियल भनेर सार्वजनिक गर्नु दुखद भएको अन्जुको दाबी छ।

उनका अनुसार यस गीतका रचनाकार विपिन किरणले केही समयअघि कुराकानी गरी आफ्नै आवाजमा गीत रेकर्ड गर्ने तयसमेत गरेको बताएकी छिन्। 'केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोहीअनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ,' उनले लेखेकी छिन्।

आफ्नै स्वरमा गीत रेकर्ड गर्ने प्रस्ताव गरेका विपिनले के कति कारणले रचनालाई गाउन दिएको हो त्यो भने आफूले थाहै नभएको अन्जुको भनाई रह्यो। उनले भनेकी छिन्, 'के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन?'

गीत यसरी आउनु अन्यायपूर्ण भएको अन्जुको भनाई छ। 'उही संगीत, उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो,' उनले थप लेखेकी छिन्, 'म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ।'

यसो त यो गीतलाई गायक जगदिश समालले पनि गाएका थिए। आफ्नो नाम उल्लेख नगर्दा अन्यायपूर्ण भनेर दाबी गरे पनि अन्जुले गीतको कपीराइट कसको थियो भन्नेबारे भने केही उल्लेख गरेकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell