काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), अमेरिकी परियोजना खारेज गर्न माग गरेको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै महासचिव किरणले एमसीसीविरुद्ध आन्दोलन अघि बढाउनसमेत आग्रह गरेका छन्।
'हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर विरोध गर्दछ,' किरणले विज्ञप्तिमा भनेका छन्, 'साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौं।'
अमेरिकी दादागिरीले स्वाधीनतामाथिको ठाडो र नाङगो हस्तक्षेप
एमसीसी परियोजनालाई अमेरिकाले जसरी पनि अनुमोदन गराउन चर्को दबाव दिँदै आएकोमा समेत किरणले असन्तुष्टि जनाएका छन्। 'माघ २७ गते नेपाली कांग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसदबाट अनुमोदन गर्नुपर्ने र सो नगरे चीनको दबावका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरुलाई धम्क्याइएको कुरा विभिन्न संचार माध्यममा प्रकाशित भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यो अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङगो हस्तक्षेप हो।'
अमेरिकाले ठाडो हस्तक्षेप गर्दा त्यसको प्रतिवाद गर्न छाडेर दलहरु दलालीमा लागेको आरोप किरणले लगाएका छन्। 'अमेरिकाले हामै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गछौं भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन्। एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्,' किरणले थप भनेका छन्, 'यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो। हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर विरोध गर्दछ।'