काठमाडौं : फिल्म ‘हनी बनी’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन्। मुख्य पात्रको अभिनय गर्नका लागि सलोन यस फिल्ममा भित्रिएका हुन्।
यसअघि अभिनेता अनमोल केसी फिल्ममा मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसैबीच, निर्देशक दिवाकार भट्टराईले फिल्ममा सलोनलाई भित्र्याएको फेसबुकमार्फत जानकारी दिएका हुन्।
कथाअनुसार सलोनलाई फिट हुने पात्र भएकाले सलोनलाई नै रोजेको दिवाकरले बताए। त्यसैगरी, फिल्मको लागि मुख्य अभिनेत्री छिट्टै फाइनल गरिने समेत उनको भनाइ छ।
अनमोल र सलोन यसअघि पनि ‘होस्टेल’, ‘गाजलु’ र ‘ए मेरो हजुर ३’ जस्ता फिल्महरुमा देखिइसकेका छन्। फिल्ममा उनीहरुबीचको सहकार्यलाई दर्शकहरुले निकै रुचाएका थिए।
एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्। प्रेम कथामा आधारित फिल्मको कथा भट्टराई स्वयंले लेखेका हुन्। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको छायाङ्कन आगामी १५ मार्चदेखि शुरु हुनेछ।