PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

महाअभियोगको प्रस्तावमा एमालेले पनि साथ दिनेछ : कानुनमन्त्री बडू



महाअभियोगको प्रस्तावमा एमालेले पनि साथ दिनेछ : कानुनमन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पनि साथ दिने बताएका छन्। आइतवार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरुले प्रधानन्यायाधीश जबराबिरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन्।

सो क्रममा मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यको लागि र संवैधानिक ढंगले न्यायपालिका सञ्चालन गराउने कुरामा सबै दलले साथ दिने बताए। उनले प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रुपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यापालिकामाथि आउन सक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रस्ताव दर्ता गरेको बताए।

मन्त्री बडूले भने, ‘यसरी गतिरोधमा यदी न्यायपालिका रह्यो भने न्यायपालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको थियो। त्यसकारणले पनि प्रतिनिधिसभाका सांसदहरुले जुन संवैधानिक निकास खोज्ने प्रयास गर्नुभयो, त्यो हामीलाई अहिले जानकारीमा आएको छ। अब यो प्रक्रिया अघि बढ्छ।’

मन्त्री बडूले प्रधानन्यायाधीश जबराविरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।

‘मलाई लाग्छ दुई तिहाईले पनि यसलाई समर्थन गर्छ। संवैधानिक प्रक्रियामा सबैको सहयोग हुन्छ र न्यायप्रक्रिया धेरै दिन अवरुद्ध हुँदैन,’ उनले भने।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा कांग्रेसका सांसद मिनेन्द्र प्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell