
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज साँझ ६ बजेको लागि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने उनले बताए।
त्यस्तै, संसदीय दलको बैठक भोलि ११ बजेको लागि बोलाइएको छ। सो बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको रिजालले जानकारी दिए।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न हाम्रो पार्टी नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज सॉझ ६ बजे अध्यक्षको निवास बाल्कोटमा र संसदीय दलको बैठक भोलि ११ बजे, संसद् भवन, नयॉ बानेश्वरमा बस्ने तय भएको छ ।
— Bishnu Rijal । विष्णु रिजाल (@bishnurijal1) February 13, 2022
आज बिहान सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङको प्रस्तावमा जबराविरुद्ध महाअभियोग दर्ता भएको हो। बिहान ११ बजेर १० मिनेट जाँदा महाभियोग दर्ता भएको हो।
महाअभियोग प्रस्ताव दर्ता भएपछि एमाले नेताहरुले यो कदमलाई स्थानीय तहको चुनाव बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। महाअभियोग छापामार शैलीमा आएको भन्दै राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने प्रयास भएको एमाले नेताहरुको टिप्पणी छ।
जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही महिनादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ। यस्तै, न्यायाधीशहरुले समेत जबरासँग बेन्च सेयर गरेका छैनन्। जबराले मंसिर १५ देखि कुनै पनि मुद्दा हेरेका छैनन्।