PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी



कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको फागुन १३ गतेका लागि तय भएको अधिवेशनमा सभापतिमा हालसम्म पाँच जनाको उम्मेद्वारी परेको छ।

कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेद्वारी घोषणा गरी चुनाबी अभियान अघि बढाइसकेका छन्। हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दाबी गरेका छन्।

यसैगरी, नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्रीसमेत रहेका युवा नेता प्रभात कुमार दाहालले पनि उम्मेद्वारी दिने भएका छन्। दाहाल अघिल्लो महाधिवेशनमा पनि मकवानपुर सभापतिमा उम्मेद्वार थिए। झिनो मतले पराजित भएका उनले यसअघि आफूलाई विश्वास गरेर मत दिने मतदाताको सम्मान गर्दै आम मकवानपुरबासीको हितका लागि उम्मेद्वारी दिन लागेको बताए।

कांग्रेस मकवानपुरको अधिवेशन तय भएसँगै यहाँको कांग्रेस राजनीति गर्माएको छ। सभापतिमा ५ जना आकांक्षी देखिएपछि पार्टीको नेतृत्व कसले गर्ला भन्ने विषयलाई निकै चासोसाथ हेरिएको छ। उनीहरुले प्रचारप्रसार कार्यालय स्थापना गरी चुनाबी अभियानलाई अघि बढाइरहेका छन्।

सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको बेला कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ। कांग्रेस मकवानपुरको राजनीतिमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना निर्णायक मानिन्छन्। तर, बानियाँ र डीनाले भने हालसम्म कसलाई सहयोग गर्ने भन्ने बारे सार्वजनिक रुपमा धारणा व्यक्त गरिसकेका छैनन्।

स्रोतका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गएको बेला आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्र विवाद बढाउने र गुट/उपगुट हुने भएकाले सहमतिबाट अधिवेशन सम्पन्न गर्ने पक्षमा बानियाँ र डीनाको एकमत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell