PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पोखरालाई 'इजी टार्गेट' बनाएका दिनेशको नयाँ ठगी शैली, अधिकांश पीडित सवारी चालक



पोखरालाई 'इजी टार्गेट' बनाएका दिनेशको नयाँ ठगी शैली, अधिकांश पीडित सवारी चालक

पोखरा : पोखरा महानगरपालिका-७ बस्ने विनोद विकको भेट मनोज मल्लसँग पहिलोपटक पृथ्वी चोकमा भयो। पोखरामा ट्याक्सी चलाउने उनले यात्रुका रुपमा मनोजलाई पुस १८ मा भेटेका हुन्। पेशाले इन्जिनियर बताउने मनोजले भोलिपल्ट फोन गरेर बाहिर जानुपर्ने भएकाले लिन बोलाए। काठमाडौँ र पोखराका लागि यूनएनमा भ्याकेन्सी रहेको र तलब ४८ हजार ९ सय २८ रुपैयाँ हुने भन्दै प्रलोभनमा पारे।

जागिरका लागि २० लाख रुपैयाँ बैंकमा स्टेटमेन्ट देखाउनुपर्ने बताउँदै मनोजले नयाँ खाता खोल्न लगाए। विनोदले पनि जागिर पाउने आशामा विश्वास गरेर बैंकमा तीन लाख डिपोजिट गरे। बाँकी रकम मनोजलाई आफैँले देखाइदिने बताए। अर्को दिन जागिरकै लागि आफ्ना अर्का साथी होमबहादुर विकलाई पनि विनोदले मनोजसँग भेट गराए। फोनसमेत विनोदको नाममा प्रयोग गरेका मनोज त्यसपछि सम्पर्कविहिन भए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरालाई 'इजी टार्गेट' मानेका उनले पुस १८ देखि माघ २० गतेसम्म पाँच जनालाई प्रलोभनमा पारेर ठगेका छन्। ठगी गर्नका लागि उनले मनोज मल्ल, निर्माण मल्ल, दिवेश सिंह, संगम सिंह नाम प्रयोग गरे पनि उनको वास्तविक नाम भने दिनेश सिंह हो।

दिनेशले पोखरा २४ मा बस्ने बुद्धिबहादुर नेपालीबाट ३ लाख ५० हजार, पोखरा-८ बस्ने युके गुरुङबाट ६ लाख र सोही ठाउँका युवराज पौडेलबाट ५ लाख ९० हजार ठगी गरेका छन्। प्रहरीका अनुसार ठगिएका चार जना ट्याक्सी चालक हुन्। अर्का एक जना भने छोरालाई जागिर लगाउने आशामा ठगिएका हुन्।

कास्की प्रहरीमा उनीविरुद्ध उजुरी परे पनि ट्याक्सी चालककै नामबाट होटल बुक गर्ने र सम्पर्कका लागि पीडितकै नाम रहेको सिमकार्ड प्रयोग गर्ने गरेकाले अनुसन्धानमा समय लागेको डीएसपी सुन्दर तिवारीले बताए। प्रहरीका अनुसार अन्य शहरमा समेत ठगी गरेका उनीविरुद्ध महानगरीय प्रहरी परिसर महाराजगञ्जमा दुई वटा, मकवानपुरमा दुई वटा, चितवनमा एक, ललितपुरमा एक, काठमाडौंमा एक, बाजुरामा एक र धनगढीमा एक ठगीको उजुरी दर्ता छ।

डीएसपी तिवारीका अनुसार अन्य स्थानमा उनीविरुद्ध ठगीका उजुरी दर्ता भए पनि पहिचान कतै खुलेको थिएन। कतै फोटोमात्र उपलब्ध हुने त कतै ठगी गर्दा प्रयोग गर्ने नाम मात्र थिए।

उनै दिनेशलाई फागुन २ गते बुटवल उपमहानगरपालिका मिलन चोकबाट पक्राउ गरिएको हो।

पोखरामा उनले आफ्नो टार्गेट ट्याक्सी चालकलाई बनाए पनि बुटवलमा उनको फन्दामा एक इन्जिनियर परेका छन्। तर धेरै स्थानमा उनको टार्गेटमा सवारी चालक नै छन्।

प्रहरीका अनुसार उनको ठगी गर्ने शैली फरक थियो। जागिरको नाममा प्रलोभनमा पार्ने विश्वास दिलाउन विभिन्न हाइप्रोफाइल व्यक्तिहरूसँग संवाद गरेको देखाउन पीडितका अघि यूएनको गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने गरेका थिए। उनी त्यस्ता मानिसको बैंक खाता खोल्ने लगायत कार्यमा सहयोग गर्थे भने कपडा, जुत्ता पनि किनिदिन्थे।

प्रहरीका अनुसार उनले ठगी धन्दा सुरु गरेको एक वर्ष मात्र भएको छ। एक वर्षमा दिनेशले पोखराबाट १९ लाख र देशभर बाट ७० लाख ठगी गरिसकेका छन्। प्रारम्भिक अनुसन्धानमा ठगी धन्दामा दिनेशबाहेक अन्य कसैको संलग्नता देखिएको छैन। ठगी गरेको रकमले उनी सुखभोग जीवनशैली लिँदै आएको प्रहरीको भनाइ छ।

'ठगी गरेको पैसाले अन्त कतै नलैजाने, दैनिक दोहोरी जाने, प्लेन यात्रा मात्र गर्ने, होटलमा बस्ने, फोन त्यही अनुसार बोक्ने गर्दा रहेछन्, ' डीएसपि तिवारीले भने।

प्रहरी बयानमा दिनेशले पोखरामा ठगी गर्न आफूलाई सहज भएको बताएका थिए। 'अन्य शहरमा भन्दा पोखरा मलाई इजी टार्गेट लाग्यो,' दिनेशको भनाई उदृत गर्दै तिवारीले भने।

प्रहरीले दिनेशको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेँलो रंगको १ थान सिक्री, १ थान औँठी, विभिन्न कम्पनीको ६ थान सिम, केही थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ।

दिनेशविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell