काठमाडौं : बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ सार्वजनिक भएको छ। इर्टनल प्रकाशन प्रालिले प्रकाशन रहेको चित्रकथा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको लेखकले बताए।
कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ। राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको रसिकले बताए।
कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र राम विच भएका गतिविधिको चित्रण गरिएको छ। ऐतिहासिक साँस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्नेल छैनन् उनीहरुले कथाभित्रै परापुर्वकालका घटनाहरुको ज्ञान समेत राख्न सक्ने छन्। कृतिको आवरण चित्रकार प्रज्वल थापाको रहेको छ। किताब प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनलले जनायो। यो लेखकको १३ औं कृति हो। किताबको मुल्य १५५ रुपैयाँ तोकिएको छ।