बीबीसी : भारतको हिजाब विवादमा चर्चित बनेकी मुस्कान खानको समर्थन र विरोध जारी छ। पाकिस्तानमा पनि हिजाब मुद्दा यतिबेला चर्चामा छ। पछिल्ला केही दिनदेखि उनको समर्थन र विरोधमा प्रदर्शन भइरहेका छन्।
जमात-ए-इस्लामीको महिला संगठनले आइतबार मुस्कानको समर्थनमा प्रदर्शन गरेको छ। शुक्रबार भने हिफ्जाका छात्राले विरोध जनाएका थिए।
'भारत कर्नाटकमा १९ वर्षकी एक युवती उग्र भिडको सामना गरी डटेकी छन् र आफ्नो आवाज बुलन्द गरेकी छन्। जुन विश्वभर गुन्जिरहेको छ,' जमात-ए-इस्लामीकी पूर्व सांसद समिया राहील काजीले बीबीसीसँग भनिन्। मुस्कान मुसलमानको मात्र नभई संसारभरका मान्छेको आवाज बनेको उनको भनाइ छ।
'संयुक्त राष्ट्रसंघले आफ्नो इच्छाअनुसार पहिरन लगाउन पाउने अनुमति दिएको छ भने कुनै पनि महिलाले हिजाब लगाएको विषयमा किन आपत्ति?' समियाले प्रश्न गरिन्। २० वर्षदेखि हिजाब आन्दोलन चलिरहेको पनि बताइन्। 'यसबीच १९९० को दशकमा एक टर्किस महिलालाई हिजाब लगाएकै कारण निलम्बन गरिएको थियो। उनी हाल मलेसियामा राजदूत छन्,' उनी भन्छिन्, 'मुस्कान हाम्रा लागि मिसाइल हुन्। आफ्नो हकका लागि आवाज उठाउन उनले डर मान्नुपरेन।'
भारतमा केही पत्रकारले पनि मुस्कानको समर्थन गरिरहेको उनले बताइन्। 'यो एक महत्वपूर्ण कुरा हो, जसको प्रशंसा जति गरे पनि कम हुन्छ,' उनले भनिन्।
पाकिस्तानमा एउटा यस्तो वर्ग छ, जसले एकातिर मुस्कानलाई पूर्ण समर्थन गर्छ अर्कातिर ‘महिलाले जस्तो चाह्यो उस्तै पहिरन’ जस्ता नारालाई दोहोरो मापदण्ड मान्छ। यसको ठूलो उदाहरण महिला मार्च रहेको समियाले बताइन्। 'जहाँ हरेक वर्ष 'मेरो शरीर मेरो इच्छा' जस्ता नारा लगाउनेमाथि हरेक खालका गाली मात्रै होइन उजुरी पनि दर्ता गरिन्छ,' उनले भनिन्।
यसै विषयमा कुरा गर्दै महिला मार्की एक आयोजकले पाकिस्तानको दिमाग र सोच महिलाका लागि निकै छोटो रहेको बताइन्। एउटा प्लेकार्ड बनाएकै कारण आफूलाई घरभित्र बन्धक बनाइएको पीडा पनि उनले सुनाइन्। 'मैले कस्ता खालका गाली खाइनँ हुँला? हिजाब लगाउनुले हाम्रो सामूहिक सोच दर्शाउँछ। त्यसैले यसका लागि पूरापूरा समर्थन गरिएको हो,' उनले भनिन्।
पाकिस्तानमा दोहोरो मापदण्ड?
कथित दोहरो मापदण्डका बारेका कुरा गर्दै पत्रकार शिराज हसनले लेखेका छन्, 'धेरैजसो पाकिस्तानी पुरुषले मुस्कानले हिन्दुत्वको विरुद्ध आवाज उठाएको भन्दै प्रशंसा त गरेका छन्। जब कुनै पाकिस्तानी युवतीले यस्तो हिम्मत देखाउँछिन्, पुरुषको भिडले उनैलाई गाली गर्न थाल्छ।'
यसैगरी एक महिलाले लेखेकी छन्, 'मुस्कानको हिम्मत र हौसलामा कुनै विवाद छैन। तर मुस्कानको नारा फरक हो, यसमा मेरो शरीर मेरो मर्जी जोड्न जरुरी छैन।
यस मुद्दामा बहस अझै जारी छ। धेरैजसोले भनेका छन्, 'मुस्कान पनि एक युवती हुन्। उनले आफ्नो इच्छाको कपडा लगाउनु महत्वपूर्ण छ जति अर्को देशका युवतीले लगाउनुमा।'
पाकिस्तान एक इस्लामिक देश भएकाले कुरानमै हिजाब लगाउने विषय राखिएको बताउँछिन्, समिया। 'म पाकिस्तानमा मुस्कानको समर्थनमा दोहोरो मापदण्डको कुरा गर्दिनँ। हिजाब लागू गर्न पुरुषले पनि कर्तव्य निभाउन जरुरी छ,' उनी भन्छिन्।
विश्लेषक एवं पत्रकार महमल सरफराजले पनि पाकिस्तानमा दोहोरो मापदण्ड रहेको बताए। 'हामी भारतमा पत्रकार राणा अय्युबलाई मन पराउँछौं जब आस्मा शिराजीले यही कुरा यहाँ गरे भने हामीलाई राम्रो लाग्दैन। हामीसँग अस्मा जहाँगीरको उदाहरण पनि छ,' उनले भने।
भारतमा हिजाबको मुद्दा धार्मिक र राजनीतिक दुवै नभएको उनको विश्लेषण छ। 'यो समय हामी भारतीय जनता पार्टीको एजेन्डामार्फत मुस्लिमविरुद्ध आन्दोलन देखिरहेका छौं। यसविरुद्ध कोहीकोहीले आवाज उठाइरहेका छन्,' उनले भने, 'यो ठिक हो किनकि अन्यायविरुद्ध बोल्न जरुरी छ।'
पितृसत्ताको छाया
यो समयमा कुनै महिलाले उसको इच्छामुताबि कपडा लगाउने विषय चर्चामा रहेको पत्रकार महमल बताउँछन्। 'जो कसैको पनि अधिकार हो यो। पाकिस्तानमा 'मेरो शरीर मेरो इच्छा'को नाराले भन्न खोजेको नै के लगाउने/नलगाउने हरेक महिलाको अधिकार हो।'
उनी प्रश्न गर्छन्, 'आखिर संसारभर महिलाले लगाउने कपडाकै विषयमा मान्छेले किन चर्चा गरिरहन्छन्?' यसै सन्दर्भमा फ्रान्समा मुस्लिम महिलालाई हिजाब लगाउन प्रतिबन्ध लगाइएको उदाहरणका बारेमा पनि उनले कुरा गरे।
महमलका अनुसार केही देशमा महिलालाई अधिकार र स्वतन्त्रता मिलेको पनि छ। तर यसका लागि उनीहरले ठूलो संघर्ष गर्नुपरेको छ। त्यस्तो संघर्ष आजसम्म जारी छ।
आज पनि कुनै विवादमा महिलालाई लान्छना लगाउने क्रम रोकिएको छैन। 'धेरै देश पितृसत्तात्मक व्यवस्थामै चलिरहेका छन्, 'उनी भन्छन्,'यसलाई परिवर्तन गर्न धेरै समय लाग्नेछ।'