PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नदीमा औषधिजन्य पदार्थको 'डम्पिङ' हुन सक्छ मानव स्वास्थ्यका लागि घातक



नदीमा औषधिजन्य पदार्थको 'डम्पिङ' हुन सक्छ मानव स्वास्थ्यका लागि घातक
ट्यूनिसको ब्लू नदी

संसारका अधिकांश देशमा सबैखाले फोहोर व्यवस्थापन गर्ने स्थल हो नदी। त्यसमा पनि नदीमा ‘डम्प’ गरिने औषधिजन्य फोहोरले विभिन्न समस्या सिर्जना गरेको छ।

औषधि र औषधिजन्य उत्पादनबाट विश्वका नदीहरूमा भइरहेको प्रदूषणले ‘वातावरण र मानव स्वास्थ्यमा खतरा’ निम्त्याइरहेको एक रिपोर्टले औँल्याएको छ।

युनिभर्सिटी अफ योर्कको एक अध्ययनमा पारासिटामोल, निकोटिन, क्याफेन, एपिलेप्सी र मधुमेहका औषधि व्यापक रूपमा नदीमा पाइएको छ। सो अध्ययन विश्वव्यापीस्तरमा गरिएको सबैभन्दा बृहत् अध्ययन थियो।

अध्ययनले पाकिस्तान, बोलिभिया र इथियोपियाका नदीहरू संसारका सबैभन्दा प्रदूषित तथा आइसल्याण्ड, नर्वे र अमेजन ‘रेनफरेस्ट’का नदी उत्कृष्ट रहेको देखाएको छ। सामान्यतया धेरैजसो नदी प्रदूषित पार्ने औषधिजन्य पदार्थ भने अझै धेरै हदसम्म पत्ता लाग्न सकेको छैन।

अध्ययनका क्रममा सयभन्दा बढी देशका हजारभन्दा बढी परीक्षण साइटबाट पानीको नमुना लिइएको थियो। समग्रमा, नमुना लिइएका २५८ नदीको एक चौथाईभन्दा बढीमा ‘सक्रिय औषधिजन्य पदार्थहरू’ पाइएको थियो, जुन जलीय जीवहरूको लागि असुरक्षित मानिन्छ।

‘सामान्यतया, के हुन्छ भने हामी यी केमिकलहरू लिन्छौँ, तिनीहरूले हाम्रो शरीरमा केही निश्चित प्रभाव पार्छन्, त्यसपछि तिनीहरू हाम्रो शरीरबाट बाहिरिन्छन्,’ अनुसन्धानको नेतृत्व गरेका डा जोन विल्किन्सनले बीबीसीलाई भने, ‘हामीलाई अहिले यो ज्ञान भयो कि फोहोर पानी प्रशोधन गर्ने सबैभन्दा अत्याधुनिक प्लान्ट पनि नदी वा तालहरूमा फोहोर व्यवस्थापन गरिनुअघि यी पदार्थ घटाउन पूर्ण रूपमा सक्षम छैनन्।’

अधिकांश नदीमा पाइएका दुई औषधिमध्येको एक कार्बामाजेपाइन हो। जुन इपिलेप्सी र स्नायुको दुखाइको उपचार गर्न प्रयोग गरिन्छ। र, अर्को मेटफर्मिन हो जुन मधुमेहको उपचारमा प्रयोग गरिन्छ।

दैनिक जीवनमा उपभोग्य वस्तुहरू क्याफेन (कफीमा पाइने पदार्थ) र निकोटिन (चुरोटमा पाइने पदार्थ) तथा दुखाइ कम गर्न प्रयोग गरिने पारासिटामोलको मात्रा पनि नदीमा उच्च पाइएको छ। अफ्रिकामा आर्टेमिसिनिन नामक मलेरिया विरुद्धको औषधिमा प्रयोग गरिने पदार्थ पनि उच्च मात्रामा पाइएको थियो।

‘हामी यो भन्न सक्छौँ कि नदीहरूमा त्यस्ता औषधिहरूको प्रभाव नकारात्मक हुन सक्छ तर अझ विस्तृत परीक्षण गर्न आवश्यक छ। त्यहाँ अपेक्षाकृतभन्दा थोरै अध्ययन भएका छन्,’ बेलायतको युनिभर्सिटी अफ हर्टफोर्डसायरकी जलीय पर्यावरणविद् डा. भेरोनिका एडमन्ड्स-ब्राउनले भनिन्, ‘हामीले हरेक पटक शारीरिक वा मानसिक कुनै पनि रोगको लागि औषधीय समाधानको प्रयोग गर्ने क्रम बढिरहेकाले यो समस्या अझ जटिल बन्दै गइरहेको छ।’

अध्ययनको रिपोर्टले नदीहरूमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले प्रतिरोधी ब्याक्टेरियाको विकास हुने, औषधिको प्रभावकारिता घट्ने र अन्ततः ‘वातावरण र विश्वव्यापी स्वास्थ्यको लागि खतरा’ निम्तिने सम्भावना रहेको बताएको छ।

सबैभन्दा प्रदूषित नदीहरू धेरै हदसम्म न्यूनदेखि मध्यम आय भएका देशहरूमा रहेका छन्। जहाँ फोहोरको उपयुक्त व्यवस्थापन छैन भने नदी नजिक औषधिको उत्पादन गर्ने फ्याक्ट्री रहेका छन्।

‘हामीले नाइजेरिया र दक्षिण अफ्रिकामा औषधिजन्य पदार्थहरुको धेरै उच्च मात्रा भएका दूषित नदीहरू देख्यौँ। र, मूलतः फोहोर पानीको उचित 'ट्रिटमेन्ट' गर्ने पूर्वाधारको अभावको कारण यो अवस्था आएको हो,’ बेलायतको बर्मिङ्घम युनिभर्सिटीका सहायक प्राध्यापक डा. मोहम्मद अब्दल्लाहले भने, ‘स्वास्थ्य सेवामा सबैभन्दा कम पहुँच भएका जोखिमपूर्ण जनसंख्या भएको स्थानमा यस्तो समस्या देखिएकाले पनि यो निकै चिन्ताको विषय हो।’

यो समस्याको समाधान गर्न के गर्न सकिन्छ भन्ने सवालमा प्रतिवेदनका प्रमुख लेखक डा. विल्किन्सनको दृष्टिकोण केही हदसम्म निराशाजनक छ।

‘समस्याको समाधान गर्न मभन्दा धेरै स्मार्ट व्यक्तित्वहरूको आवश्यकता छ’, उनले भने, ‘हाल गर्न सकिने प्रभावकारी काममध्येको एक भनेको औषधिको उचित र सावधानीपूर्ण प्रयोग नै हो।’

यसको अर्थ एन्टिबायोटिक्स जस्ता औषधिहरूको उपलब्धतालाई कम गर्नु र डोजमा कडा नियमन गर्नु हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell