PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

टाउको टेकेर उभिएका नेपालका कम्युनिस्टहरू



टाउको टेकेर उभिएका नेपालका कम्युनिस्टहरू

  • सुभाषचन्द्र देवकोटा -

नेपालका राजनीतिक दलका नेता स्वार्थी र कपटी छन्। अहंकारी र कुण्ठा ग्रस्त पनि। राजनीतिलाई सेवाभन्दा व्यापार सम्झिने नेतृत्व र कार्यकर्ताको बिगबिगी बढ्दा विचार सिद्धान्तको खरो कुरा गर्नेहरु सीमान्तकृत हुँदै किनारातिर पुगेका छन्। राजनीतिक नेतृत्वमा देखिएको वैचारिक विचलन र स्वार्थपरक प्रवृत्तिले देशको सामाजिक र आर्थिक विकास अवरूद्ध भएको छ। देश संकटग्रस्त बन्दै गएको छ र अन्योलको भूमरीमा जाकिएको छ। परिणाम केही मुठ्ठीभर मान्छेका लागि स्वर्ग भए पनि सर्वसाधारण जनताका लागि देश दु:ख, सास्ती र अभावको खडेरीबाट गुज्रिरहेको छ। यसरी देशको अर्थिक, राजनीतिक जग नै कमजोर भएका कारण स्वदेशी अनि विदेशी स्वार्थ समूहले देशको अस्मितामाथि खेल्ने मौका पाएका छन्। यसरी समग्र देश नै राजनीतिका बाहुबलीको स्वार्थमा बन्धक बन्दा जनता निराश छन्। देशको स्वाधिनतामाथि चौतर्फी आक्रमण बढ्दै छ।

अरुलाई छोडौं, देशको राजनीतिका ठूला खेलाडी मानिएका कम्युनिस्ट समेत विभिन्न स्वार्थी र आपराधिक समूहको चंगुलमा परेर देशको स्वाभिमान र जनताको पक्षमा दृढताका साथ उभिन नसक्दा त्यसको मार समग्र देशले भोग्नु परिरहेको छ। यसरी राजनितिमा बढ्दै गएको गैह्र राजनीतिक आचरण र क्रियाकलापले कुनै बेला ठूला मानिएका राजनितिक नेतृत्व अब क्रमशः बाउन्ने हुँदै गएका छन्।

राष्ट्रिय स्वाधिनताको संरक्षण तथा सबैखाले विभेद र उत्पीडनबाट जनताको मुक्ति नेपालमा कम्युनिस्ट पार्टी स्थापना र उत्थानका प्रमुख आधार थिए। यिनै वैचारिक आधार नेपाली जनताका लागि कम्युनिस्ट पार्टीप्रति भरोसाका मापदण्ड थिए। सुन्दर भविष्यका सपना पनि। जनताका यिनै भरोसा र सपनाको जगमाथि नेपालमा कम्युनिस्ट अन्दोलन उभियो। तर, विडम्वना जघाँर तर्‍यो, लौरो बिर्स्यो भनेजस्तै आन्दोलनको सफलतापछि सरकारमा पुगेका हरेक कम्युनिस्ट नेतृत्व जनताको भरोसामा खरो उत्रिन सकेनन्। न त देशको स्वाधिनताको संरक्षण गर्न सके न त विभेद, उत्पीडनबाट जनतालाई मुक्त पार्न सके। जनताका संवेदनामाथि खेलेर आफ्नो र आफ्ना गुटको स्वर्थमात्र पूरा गरिरहे।

कम्युनिस्टप्रतिको विश्वासका कारण जनताले कम्युनिस्ट पार्टीलाई पटकपटक सत्ताको शिखरमा पुर्‍याए। दुर्भाग्य! सत्तामा पुगेका कम्युनिस्ट नेतृत्वमण्डलीले जनतालाई विश्वासमा लिएर काम गर्ने र जनताका जनजीविकाका सवाल समाधान गर्नेगरी काम कहिल्यै गरेनन्। जनताका सपनाको उचित कदर गर्न सकेनन्। यथार्थमा, सरकारमा पुगेको कम्युनिस्ट नेतृत्वले अन्य दलाल पूँजीवादी राजनीति दलले लिएको बाटो छोड्न सकेनन्। आफूलाई जनताको असली प्रतिनिधि भएको प्रमाणित गर्न सकेनन्। उल्टै स्वार्थको लागि देशको राष्ट्रियता र स्वाधीनतामाथि खेल्ने काममा सक्रिय रहे। नीति नियमको डण्डा चलाएर पटकपटक उत्पीडत समुदाय र वर्गहरूको हुर्मत लिइयो यस बिचमा। कम्युनिस्ट आन्दोलनका आधारहरु भत्काएर समग्र कम्युनिस्ट आन्दोलनलाई समेत बदनाम बनाउनमै तल्लिन रहे वामपन्थी दलहरु। जनताका सपना र विश्वासमाथि निरन्तर अन्तरघात भइरह्यो।

सन् १९५० मा नेपाल र भारतबिच भएको असमान सन्धी, कोशी, गण्डक सम्झौता लगायत भारतीय विस्तारवादको विरुद्धको आन्दोलनबाट उदाएको कम्युनिस्टको राष्ट्रवाद यहाँसम्म आइपुग्दा करिबकरिब अस्ताइसकेको देखिन्छ। कुनै बेला भारतसँग कोशी र गण्डक सम्झौतामा सहभागी भएवापत् नेपाली कांग्रेसलाई अराष्ट्रिय घोषणा गरेर महान् राष्ट्रवादी कहलाइएका कम्युनिस्टहरु भारतसँग महाकाली सन्धीजस्तो असमान र राष्ट्रघाती सन्धीमा हस्ताक्षर गरेर राजनीतिक भविष्य उजिल्याउन निस्किएको धेरै भएको छैन। अरुण, कर्णाली र कोशी उच्च बाँधजस्ता नेपाली जीवनधारालाई भारतको हातमा सुम्पेर सत्ता खुड्किलो उक्लिने दाउमा बसेका कम्युनिस्ट नेताहरु आज बग्रेल्ती छन्। बाहिर लोकाचारको लागि चर्का कुरा गरिरहने। कालापानी, लिपुलेक र लिम्पियमाधुराजस्ता नेपाली भूमिमाथि अतिक्रमण भइरहँदा भारतीय गुप्तचर प्रमुखसँग भेट्ने। गुप्तचरसँग एकान्तमा भेटेर सत्ताको भोक मेटाउन कस्सिने कम्युनिस्ट नेतृत्वसँग कस्तो राष्ट्रवादको अपेक्षा गर्न सकिन्छ? पुष्पलाल र मदन भण्डारीको विरासत बोकेको स्वाङ गर्नेहरु नै विदेशी सुरक्षा छातामुनि नेपाललाई राख्‍न दाम्लो चुडाएर उफ्रिएको देख्दा कम्युनिस्ट राष्ट्रवादको अन्तर्य छताछुल्ल भएको छ।

आन्दोलनका बेला वा सत्ताबाहिर बस्दा गरिव र श्रमजीवी जनताका बारेमा ठूलाठूला कुरा गर्ने कम्युनिस्ट नेता सत्तामा पुग्दा सर्वसाधारण जनताका राजनीतिक, आर्थिक, सामाजिक उन्नतिका लागि सिन्को भाँचेनन्। उत्पीडनको सिकार बनेका नवराज विकहरुको न्यायका विषयमा बोल्दै बोलेनन्। नेपालबाट वर्षेनी हजारौं युवा वैदेशिक रोजगारीको खोजीमा विदेश पुगिरहेका छन्। त्यस्ता युवालाई स्वदेशमै रोजगारीका लागि उद्धोगधन्दा स्थापना र व्यावसायिकताको लागि योजना निर्माण र कार्यान्वयनमा कम्युनिस्ट सरकारहरू लागेनन्। बरू, उल्टै सरकारी संरक्षणमा वैदेशिक रोजगार कम्पनी खोलेर कम्युनिस्ट नेता र कार्यकर्ता नै पैसा कमाउन लिप्त देखिए। धरहराको छतमा उभिएर दुरविनले काठमाडौंको सौन्दर्यता हेर्न मन पराउने, पाँच तारे होटलमा जन्मदिवस मनाउने, सम्भ्रान्त कम्युनिस्ट नेताका लागि घरबारविहीन सुकुम्बासी कहिल्यै छलफलको विषय बनेनन्। आ‌फ्नो ‍उपचारमा राज्यको ढुकुटीबाट करोडौ खर्च गर्न अलिकति पनि नहिच्किचाउने उनीहरु जनताका लागि सुलभ र गुणस्तरीय स्वास्थ सुविधाको विषयमा छलफल गर्नसमेत तयार भएनन्। प्राथमिकताको विषय नै भएन उनीहरुका लागि। बरू उल्टै कोभिड १९ को महामारीको बेलामा समेत मित्र राष्ट्रले अनुदानमा दिएको स्वास्थ सामग्रीमा राज्यको संरक्षणमै घोटला गरेर सम्पत्ति जोड्न कम्युनिस्ट नेताहरू लागिरहे। यथार्थमा सम्पत्तिको खेलमा नै आफ्नो राजनीति भविष्य देख्‍ने कम्युनिस्ट नेताका लागि कम्युनिस्ट आन्दोलन र जनताका सवाल राजनीति उजिल्याउने साधनमात्र बन्यो।

समग्रमा भन्नु पर्दा, अहंकार र कुण्ठाग्रस्त नेपालका कम्युनिस्ट नेतृत्वहरु स्थापित मान्यता र आदर्शबाट च्युत भएका छन्। मुखले कम्युनिस्ट भने पनि उनीहरूका व्यवहार रहनसहन र आचरण सबै सामन्ती छ। कतैबाट हेर्दा पनि कम्युनिस्ट विशेषतासँग मेल खादैनन् उनीहरु। यसरी हरेक कोणबाट कम्युनिस्ट मान्यता र मूल्यबाट च्युत भएको नेतृत्वको पछि लागेर कस्तो कम्युनिस्ट पार्टी बनाउने? कस्तो कम्युनिस्ट अभियान संचालन गर्ने? यो आजको सबैभन्दा ठूलो चुनौतीको विषय हो। बेलैमा यसबारे समीक्षा नगरे इतिहासले क्षमा दिनेछैन। कम्युनिस्ट आन्दोलनको गरिमा जोगाउन कसैले सक्नेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell