बुटवल : दुई दशकअघि पश्चिमाञ्चल होटल संघ पोखराले अगाडि सारेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। सोमवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले बुटवलबाट शुरु भएको अभियान चितवन, हेटौँडा, वीरगंजलगायतका शहरमा पनि सञ्चालन हुने जानकारी दिए।
पोखरामा भएका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि यो अभियानले महत्वपूर्ण सहयोग गर्ने उनले दाबी गरे। नेपालका अधिकांश मुख्य शहरहरुसँग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई आवतजावतमा सहज हुने बताए।
पछिल्लो समय बन्जी, प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए। फेवा नववर्ष महोत्सव यसवर्ष पनि आयोजना हुने उनले बताए।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोना महामारीलगायत कठिन परिस्थितिका बावजूद पर्यटन पवर्द्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिइएको बताए। नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै उनले प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए।
उनले आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै पोखरामा अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको बताए। संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको व्यवस्था गरिरहेको उनले बताए। पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान सञ्चालन भएको उनको भनाइ छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रालयका सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको जानकारी दिए। समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने भन्दै यो धेरै महत्त्वपूर्ण हुने अपेक्षा गरे।
लुम्बिनी आउने बाह्य पर्यटकलाई गण्डकी तथा गण्डकी आउने पर्यटकलाई लुम्बिनीसँग जोड्न के गर्न सकिन्छ त्यसतर्फपनि सोच्नुपर्ने उनले बताए।