PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सडकबाटै कागले उठाउँछन् चुरोटका ठुटा, स्वीडेनमा यसरी दिइँदैछ तालिम



सडकबाटै कागले उठाउँछन् चुरोटका ठुटा, स्वीडेनमा यसरी दिइँदैछ तालिम

चुरोटका ठुटाहरू प्लास्टिक प्रदूषणको सबैभन्दा प्रचुर रूप हुन्। हरेक वर्ष विश्वभर करिब ४.५ ट्रिलियन (४५ खर्ब) चुरोटका ठूटाहरू यत्रतत्र फ्याँकिने गरिएको बताइन्छ।

यही तथ्याङ्कलाई मध्यनजर गर्दै स्वीडेनको सोडर्टालयेमा एक स्टार्ट-अप कम्पनीले जंगली कागहरूलाई सडकबाट चुरोटका ठुटा उठाउन र मेसिनमा जम्मा गर्न तालिम दिइरहेको छ।

अकल्पनीय र हास्यास्पद जस्तो लागे पनि यो योजना प्रदूषण नियन्त्रणका लागि प्रभावकारी र किफायती पनि हुन सक्ने यसमा संलग्न व्यक्तिको विश्वास छ।

यो कसको योजना?
कोर्भिड क्लिनिङ भन्ने कम्पनी यस योजनालाई सफल बनाउन लागिपरेको छ। यो स्वीडेनको राजधानी स्टकहोमबाट नजिक सोडर्टालये शहरमा रहेको कम्पनी हो।

कम्पनीका संस्थापक क्रिस्चियन गुन्थर-ह्यान्सेनका अनुसार यो विधि ‘रिवार्ड बेस्ड ट्रेनिङ’ (पुरस्कारमा आधारित प्रशिक्षण) वा ‘पोजिटिभ रिइनफोर्समेन्ट’ (सकारात्मक उत्साह) मा निर्भर छ।

प्रत्येक पटक मेसिनमा चुरोटको ठुटा जम्मा गर्दा कागले केही खानेकुरा पाउने क्रिस्चियन बताउँछन्। यो विधिले शहरमा चुरोटको ठुटा सफा गर्ने लागत ७५ प्रतिशतले घट्ने उनको विश्वास छ।

 

‘अहिले एउटा चुरोटको ठुटा उठाउनका लागि करिब ८० ओर (०.८० क्रोना अर्थात् १० नेपाली रुपैयाँ) भन्दा बढी लाग्छ, कसैकसैले त दुई क्रोनासम्म लाग्छ भन्छन्’, उनले द गार्डियनसँग भनेका छन्, ‘यदि कागहरूले चुरोटको ठुटा उठाउन थाले भने त्यो लागत प्रति ठुटा २० ओरमा झर्न सक्छ। यो कागले कति ठुटा उठाउँछन् भन्नेमा भर पर्छ।’

स्वीडेनमा प्रदूषणको समस्या
पृथ्वीलाई सबैभन्दा धेरै प्रदूषित बनाउने वस्तुमध्येको एक हो चुरोट, साथै प्रदूषणको सबैभन्दा खतरनाक रूप पनि। चुरोट ‘बायोडिग्रेडेबल’ (सड्ने वस्तु) हो भन्ने कतिपयको गलत धारणा छ।

तर, चुरोटका ठूटाहरू वास्तवमा मुख्य रूपमा प्लास्टिक हुन्, यसमा विषाक्त रसायन हुन्छन् जसले वातावरणलाई प्रदूषित गर्न सक्छ।

किप स्वीडेन टाइडी फाउन्डेसनका अनुसार स्वीडेनमा प्रत्येक वर्ष १ बिलियनभन्दा बढी चुरोटका ठुटा सडकमा फालिन्छ। जुन देशको कुल फोहोरको ६२ प्रतिशत हो।

सोडर्टालये शहरले मात्र सडक सफाइमा २० मिलियन स्वीडिस क्रोना अर्थात् करिब २ मिलियन बढी अमेरिकी डलर खर्च गर्छ।

काग नै किन?
यसमा कागहरूलाई नै किन प्रयोग गरियो भन्ने प्रश्नमा क्रिस्चियनले कागलाई सिकाउन सजिलो हुने बताएका छन्।

यसबाहेक, कागहरूले एकअर्काबाट सिक्ने सम्भावना उच्च रहेको र उनीहरूले झुक्किएर चुरोटको ठुटा खाने जोखिम कम भएको उनले थपे।

२०१४ मा गरिएको एक अध्ययनमा कागहरूले ७ देखि १० वर्षको बालकको जस्तै बौद्धिक क्षमता देखाएको उल्लेख छ। त्यसले पनि कागलाई मेसिनबाट इनामको रूपमा खानेकुरा पाउन चुरोटका ठुटा खोज्ने र त्यसलाई विशेष ठाउँमा राख्ने जस्तो जटिल कार्य सफलतापूर्वक सम्हाल्ने उच्च मौका दिने विश्वास लिइएको छ।

बीबीसीका अनुसार काग जीव प्रजातिमा सबैभन्दा चतुर प्राणीमध्येका एक हुन्। तिनीहरूले तारबाट हुक जस्तो औजार पनि बनाउन सक्छन्। काग समस्या समाधान गर्न र शरीरको चालढालबाट एकअर्कालाई सन्देश पठाउन पनि माहिर छन्।

पहिलो प्रयोग भने होइन
सडक सफा गर्न कागको प्रयोग गरिएको यो पहिलो पटक भने होइन। सन् २०१८ मा फ्रान्सेली ऐतिहासिक थिम पार्कमा चुरोटका ठुटा र फोहोर उठाउन ६ वटा कागलाई विशेष रूपमा तालिम दिइएको थियो।

पुई डु फोउ थिम पार्कका प्रमुख निकोलस डि भिलियर्सले यो सडक सफा राख्नेबारे मात्रै सम्बन्धित नभएको एएफपीलाई बताए। ‘यसको लक्ष्य सरसफाइ गर्नु मात्र होइन,' उनले भने, 'यसबाट पर्यटकहरू सामान्यतया सडक सफा राख्नुपर्छ भन्ने कुरामा सावधान हुन्छन्।

प्रकृतिले नै हामीलाई वातावरणको ख्याल गर्न सिकाउन सक्छ भनेर उदाहरण देखाउनु पनि यसको लक्ष्य रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell