PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

रहेनन् कलाकार जयनन्द लामा



रहेनन् कलाकार जयनन्द लामा

काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए।

बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे परिवारलाई जानकारी गराएका थिए ।

२०३० सालमा 'मनको बाँध' फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले सयभन्दा बढी फिल्ममा अभिनयमा गरेका छन्। उनको अभिनयमा हास्य चरित्र झल्कने गरेको छ।

करिब पाँच दशकको गायन यात्रामा उनले लोकगीत, दोहोरी, गीति नाटकमा समेत दुई सय गीत गाएका छन्। उनको 'कलकत्ते काइँयो केश मेरो बांगो' निकै लोकप्रिय गीत हो। चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँचुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना जस्ता गीत पनि चर्चित छन्।

६६ वर्षीय लामा सिन्धुपाल्चोकमा जन्मिएका हुन्।

(*यसअघि समाचारमा 'ओछ्यानमै मृत भेटिएका' उल्लेख भएकोमा सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell