चितवन : वाग्मती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना चितवन हुने गरेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो।
कार्यालयको तथ्याङ्कानुसार प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन्। तीमध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। उनका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ भने धादिङ तेस्रो स्थानमा।
मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ। यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिए।
कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा ६ वटा दुर्घटना भएका छन्। प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ। प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन्।
सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताए। उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ। तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको छ। चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन्। यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन्। जसमा सबैभन्दा धेरै मोटरसाइकल छन्। सबै दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन्।रासस