रुसले युक्रेनमाथि आक्रमण सुरु गरिसकेको छ। यो संकटका बीच बेलायतमा रहेका युक्रेनी नागरिक भने अहिले स्वदेश फर्किने सोचिरहेका छन्। स्वदेश फर्केर रसियाली सेनासँग भिड्ने उनीहरुको योजना छ। उनीहरुको संख्या अहिले सानो छ तर सो समूहका नेताका अनुसार यो संख्या बढ्दो छ।
पूर्वी युक्रेनको सीमा र सीमाभित्र रसियाली सेनाविरुद्ध देशको रक्षा गर्न उनीहरु हतियार उठाउन तयार छन्। जसमा २०१४ देखि रसियाविरुद्ध युद्धमा लडेका ‘भेट्रान’सहित युक्रेनी प्रवासीहरू सामेल रहनेछन्।
एसोसिएसन अफ युक्रेनियन्स इन ग्रेट ब्रिटेन नामक संगठनका प्रमुख वोलोडिमिर पलुकले बेलायतमा बसोबास गरिरहेका धेरै भूपू सैनिकहरुले युक्रेन फर्किनेबारे सोचिरहेको बताए। केहीले त युक्रेन फर्किने निर्णयसमेत गरिसकेको उनको भनाइ छ।
‘लण्डनबाट चाहिँ थेरै मानिसहरुले मात्रै युक्रेन फर्किने बताएको म भन्न सक्छु,’ ५८ वर्षीय पलुकले भने, ‘यद्यपि मैले सुनेको छु कि धेरै मानिसले फर्किने बताएका छन्, तर मैले उनीहरुलाई व्यक्तिगत रुपमा चिनेको छैन।’
त्यस्तै, प्लास्ट नेसनल स्काउट अर्गनाइजेसन अफ युक्रेनको लण्डन शाखाकी प्रमुख मार्था मुल्याक भन्छिन्, ‘यहाँ मात्रै होइन अन्य युरोपेली देशमा बसोबास गरिरहेका पुरुषहरुले पनि भनिरहेका छन्- युद्धकै अवस्था आए हामी त्यहाँ जान चाहन्छौँ। हामी रसियाविरुद्धको रक्षापंक्तिको एक हिस्सा हुन चाहन्छौँ।’
यद्यपि, उनको ‘स्काउटिङ मुभमेन्ट’ यस्तो योजनामा संलग्न नरहेको ३९ वर्षीय मुल्याकले जोड दिइन्। भन्छिन्, ‘युक्रेनीहरू बाहेक अरु कसैले पनि युक्रेनको भूमिको रक्षा गर्नेछैनन्, यही नै वास्तविकता हो।’
युक्रेनको पूर्वी क्षेत्रका आफ्ना केही साथी र परिवारका सदस्य जनवरीमा सरकारले स्थापना गरेको क्षेत्रीय सुरक्षा बलमा सामेल भएको मुल्याकले बताइन्। जसमा नागरिकहरूले रसियाली सेनासँग लड्न सरकारी सेनालाई मद्दत गर्नेछन्।
‘मेरा केही दाजुभाइहरू यसबारे सोचिरहेका छन्। केही साथी पहिले नै यसमा संलग्न भइसकेका छन्। मेरा धेरै साथी नियमित सरकारी सेनामा भर्ती भइसकेका छन्। युक्रेनमा मँसग कुराकानी भएका सबैजसो पुरुषहरू देशको रक्षा गर्न कटिबद्ध देखिएका छन्,’ उनले भनिन्।
युक्रेनियन इन्स्टिच्युट लण्डन नामक सांस्कृतिक केन्द्रकी निर्देशक ओलेस्या क्रोमेचुकले युक्रेनमा रहेका आफ्ना साथीहरू क्षेत्रीय सुरक्षा बलमा सामेल हुने आफूले अपेक्षा गरेको बताइन्। आफूले सँगै काम गरेका कलाकारहरुले पछिल्लो साता ‘बम सेल्टर’मा बन्दोबस्तको व्यवस्था मिलाएको उनको भनाइ छ।
युक्रेनमा अवस्था नाजुक बन्दै जाँदा यसले पारिवारिक क्षतिको पीडादायी सम्झनाहरू याद दिलाएको इतिहासविद् क्रोमेचुकले बताए।
‘यसले निम्त्याउन सक्ने रक्तपातबारे कल्पना मात्रै गर्नु पनि भयानक छ। २०१७ मा फ्रन्टलाइनमा युक्रेनी सशस्त्र बलमा सेवा गरिरहेका मेरा दाइलाई मैले गुमाए। वोलोद्या लुहान्स्क क्षेत्रमा मारिँदा उहाँ ४२ वर्षका हुनुहुन्थ्यो। उहाँ पश्चिमी युरोपमा बस्नुहुन्थ्यो तर पछि युद्धमा सामेल हुन फर्किनुभयो,’ उनले भनिन्।
३८ वर्षीया क्रोमेचुकले आफ्ना दाइको मृत्युबारे केही समयअघि मात्रै प्रकाशित पुस्तक ‘अ लस’मा उल्लेख गरेकी छिन्।
‘पछिल्लो केही महिना निकै कठिन रह्यो, किनकि हामी यो संघर्षमा विगत आठ वर्षदेखि छौँ भनेर मैले सबैलाई सम्झाउनुपरेको थियो। त्यतिबेला हजारौँ मानिसको मृत्यु भएको थियो। मलाई लागेको थियो कि यो कुरा समाचार नभई संस्मरणको लागि विषय बन्नेछ। तर, केही समयको लागि त्यस्तो हुनेवाला छैन,’ उनले थपिन्।
लण्डनमा बसोबास गरिरहेका अन्य प्रवासी जस्तै तेत्याना भोभ्न्यान्कोले पनि आफ्नो परिवारप्रति आउन सक्ने सम्भावित संकटलाई निगरानी गरिरहेकी छिन्।
४८ वर्षीया भोभ्न्यान्कोले आफ्ना भाइ र अधिकांश आफन्त कीभ र ओडिस्साबीचमा रहेको गाउँ भ्रुबिभ्कामा बसोबास गर्ने बताइन्। रसियाका समाचार संस्थाहरुले बुधबार उल्लेख गरेअनुसार सो गाउँमा रसियाली लडाकुहरुले अड्डा जमाएका छन्।
भोभ्न्यान्को सहसंस्थापक रहेको संस्था ‘ब्रिटिश-युक्रेन एड’ले युक्रेनमा सशस्त्र द्वन्द्व र मानवीय संकटको सामना गरिरहेका मानिसलाई सहायता गर्दै आएको छ। संस्थाको काम अब क्षेत्रीय सुरक्षा बलहरूलाई चिकित्सा आपूर्ति र न्यानो कपडा उपलब्ध गराउने दिशामा केन्द्रित हुन सक्ने भोभ्न्यान्को बताउँछिन्। भन्छिन्, ‘त्यसका अलावा हामीले युद्धमा घाइतेहरुलाई पनि सहयोग गर्नेछौँ।’
ब्राडफोर्डको युक्रेनी युवा संघका प्रमुख ३२ वर्षीय पेट्रो चिमेराले स्थानीय समुदायका केही सदस्यहरूले पूर्वी युक्रेनका आफन्तहरूलाई पश्चिमी युरोप र बेलायतमा शरण लिन मद्दत गर्न आकस्मिक योजनाहरू बनाइरहेको बताए।