PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली उत्सव फागुन २७ देखि, यस्ता छन् बहसका कार्यक्रम



कर्णाली उत्सव फागुन २७ देखि, यस्ता छन् बहसका कार्यक्रम

कर्णाली : ‘कुडा कर्नाली’का नाराका साथ हरेको वर्ष भइरहेको ‘कर्णाली उत्सव’को तेस्रो संस्करण फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

‘कर्णाली उत्सव, कुडा कर्नालीका’ का संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए। उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत कार्यक्रम रहेको छ।

विभिन्न माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत गरिनेछ। उत्सवको प्रारम्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘खस भाषाको लहरो’ शीर्षकमा विद्वत प्रवचन दिनेछन्।

आयोजकका अनुसार ‘सशयताको सङ्घर्ष’ विषयक सत्रमा विभिन्न वक्ताले बहस गर्नेछन्। कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाको विषयमा ‘कर्नाली भेरी सुसेल्दो छ’ सत्रमा बहस हुनेछ। कर्णालीका लोकलयमा गीतसङ्गीत लेखन तथा निर्माणमा संलग्न गायक तथा सङ्गीतकार यस सत्रमा उपस्थित रहनेछन्।

कर्णाली उत्सवमा ‘बजार विकास, हजार निकास’माथि पनि चर्चा हुनेछ। यस्तै निजी क्षेत्र तथा कर्णालीमा निजी क्षेत्रको लगानीका विषयमा ‘लगानीमा लगाम’ तथा ‘राजनीतिको खलङ्गा’ शीर्षकमा पनि बहस हुने आयोजकले जनाएको छ।

कर्णालीमा विद्युतीकरण र ग्रामीण विद्युतीकरणका विषयमा ‘झरो उजेलोको खरो’ सत्रमा बहस हुनेछ। यस्तै ‘रैबार र रैला’, ‘वाद, विवाद र संवाद’, ‘कर्णाली भेरी तिरैतिर : भविष्यको पीर’ लगायतमा बहस हुनेछ।

उत्सवको अन्तिममा कर्णाली चिन्तन (दिगो विकास र कर्णाली) सत्र मा दिगो विकास र कर्णाली विषयमा लिखित मन्तव्यसहितको प्रवचन दिने कार्यक्रम रहेको छ।

यसपालि कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ। फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’ आयोजना गर्दै आएको छ। यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको कार्यक्रम कोभिडका कारण केही समयपछि सारिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell