काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’ प्रदर्शन मिति तोकिएको छ। कोरोना महामारीका कारण रोकिएको फिल्म आउँदो वर्षको भदौ १० मा रिलिज हुने पक्का भएको हो।
खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ मा माओवादी 'जनयुद्ध'को समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथा छ।
फिल्ममा खगेन्द्रसँगै सुनील पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायाङ्कन गरिएको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन्। ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको हो। खगेन्द्रकै लेखन रहेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्।
'टलकजंग भर्सेस टुल्के' मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति, डमरुको डण्डीबियो जस्ता चर्चित फिल्ममा काम गरिसकेका छन्।