काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी परियोजनामा हुने व्याख्यात्मख टिप्पणीबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा बैठकमा भइरहेको एमसीसीबारे छलफलमा बोल्दै उनले सत्तारुढ गठबन्धनमा रहेका दलबिच भएको सहमति अमेरिका र एमसीसीले स्वीकार गर्ने आधारहरु पेश हुनुपर्ने बताएका छन्।
'व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्छ? त्यसमा के छन् त्यो सदनमा पेश हुनुपर्छ' उनले भने।
खनालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने समेत बताएका छन्। एमसीसी स्वार्थै-स्वार्थले घेरिएको भन्दै अमेरिकाको सहयोग लिन आफूहरु तयार भए पनि त्यसमा रहेका प्रावधानहरुको विरुद्धमा रहेको उनले बताए।
‘जनता सडकमा उत्रिएका छन्। यो देशको स्वाधिनता सार्वभौमसत्ताको पक्षमा बोलिरहेका छन्। उनीहरुलाई लाठी हान्नु दुखःद हो। दमनको निन्दा गर्न चाहन्छु। देशका लागि आवाज उठाउने कुनै सीमा हुँदैन। जनताको आवाजलाई सदनले सुन्नुपर्छ,’ उनले भने।
उनले सदनमा एमसीसीबारे अध्ययन तथा छलफल गर्न पाउनुपर्ने बताएका छन्। त्यस्तै, एमसीसीसँग आफूले सम्झौता गरेको भनेर आरोप लगाउने गरेको भन्दै खनालले एमसीसीमा आफूले कुनै सहमति नगरेको दाबी गरेका छन्।