PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

एमसीसी अप्रिय भएपनि देशको हितमा छ : बाबुराम भट्टराई



एमसीसी अप्रिय भएपनि देशको हितमा छ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमसीसी अप्रिय भएपनि देशको हितमा रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा भइरहेको एमसीसीबारेको छलफलमा भट्टराईले यसबारे आपत्ति मान्नुपर्ने कुरा केही नभएको दावी गरेका छन्।

‘एमसीसी एउटा सामान्य अनुदानको विषय थियो तर यसलाई यसरी गिजोलियो कि यो क्यान्सर बन्दैछ। तल्लो तहसम्म यसलाई विषाक्त बनाइएको छ। पहिले एमसीसीलाई गिजोलेकाहरु अहिले पातलो लगौटी लगाएर आफ्नो लाज छोप्ने काम गरिरहेका छन्,’ उनले भने।

एमसीसीमा अन्तर्राष्ट्रिय कानुनका भाषा भएकाले यो अप्रिय सुनिएको भएपनि यो नेपालको लागि राम्रो भएको उनको भनाइ थियो।

‘यसको भाषाले मेरो पनि मन घोच्छ। गाउँमा धनीले गरिबलाई तुमसुक बनाउँदाका जस्ता भाषा छन्। तर यसमा आपत्ति मान्नुपर्ने कुरा केही छैन,’ भट्टराईले भने।

विकासको लागि पुँजी, श्रम, बजार र प्रविधिको आवश्यकता चाहिने भन्दै उनले हामीसँग श्रम र बजार भएपनि पुँजी र प्रविधि नभएको उनले उल्लेख गरे।

उनले भने, ‘त्यसैको निम्ति भारत र चीनसँग पनि अनुदान लियौँ। हामीले एमसीसीमार्फत अमेरिकासँग पनि अनुदान लिएर जानु उपयुक्त हुन्छ। सबैले एक मतले यसलाई पारित गरौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell