काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई फेरी निकास दिइएको भन्दै गठबन्धन बच्ने र निर्वाचनतर्फ जाने बताएका छन्। सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नयाँ निर्वाचन प्रक्रियातर्फ गठबन्धन अगाडि बढ्ला भनेका बेला एमसीसीको बहस भएको बताए।
एमसीसी खारेज गर्ने भन्ने कार्यदलको निचोड नभएको तर संशोधन गर्ने कुरा भएको उनले बताए।
‘एमसीसी हाम्रै पालाको सरकारमा छलफल बहस भएको हो। नेकपाकै बेलामा यो विषय विवादित भयो। पहिला त हामी सबै खुसी थियौँ। अमेरिकाले झण्डै ५५ अर्ब दिने भनेपछि सबै खुसी थियौँ। तर, नेकपाको सरकारको बेला विवाद अलि गम्भिर रुपमा आयो,’ उनले भने।
एमसीसीलाई आइपीएसको अंग भनिएपछि विवाद सुरु भएको उनको भनाइ छ।
उनले भने, ‘नेपालका तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल पनि आइपीएसकै सदस्य भयो भनेको समाचार आयो त्यसपछि विवादमा तानियो। सुरुमा यसलाई संसद्बाट अनुमोदन गर्ने भन्ने थिएन। २०१९ मा कानुनी हैसियत दिने भनेपछि झन् बढी विवाद हुन पुग्यो। मेरो लागि खुसी र अप्ठेरोको कुरा पनि हो।’