PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एमसीसी पास गर्न एमालेको पनि सहयोग रह्यो : कांग्रेस, पार्टी सभापति देउवालाई दिए धन्यवाद



एमसीसी पास गर्न एमालेको पनि सहयोग रह्यो : कांग्रेस, पार्टी सभापति देउवालाई दिए धन्यवाद

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहयोग भएको कांग्रेसले दाबी गरेको छ। पार्टी मुख्यालय सानेपामा सोमवार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले उक्त भनाई राखेका हुन्।

'एमसीसीमा देखिएका भ्रमलाई चिर्दै संसदबाट हिजो अनुमोदन गर्ने निर्णय गर्‍यो। त्यो सम्झौताको सम्बन्धनमा सरकारले निर्णय गरी संसदमा व्यख्यात्मक घोषणा गर्‍यो। त्योसहित संसदले पारित गर्‍यो। यसमा  विपक्षी दलको प्राविधिक कारण अन्य मुद्दाको कारण सहभागी नभए पनि उहाँहरुको सहयोग रह्यो,'  प्रवक्ता महतले भने।

एमालेले एमसीसी अनुमोदनको बेला सदनमा अवरोध जारी राखेको थियो। विगत ६ महिनादेखि १४ सांसद माथिको कारवाही र सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै एमालेले संसद अवरोध जारी राखेको थियो। एमालेको अवरोधकाबिच आइतवार एमसीसी सदनबाट अनुमोदन भएको हो।

सदनमा केहीको साथ बाहेक बहुमतले एमसीसी पारित भएको महतको भनाई थियो। 'समग्रमा अपवादबाहेक सबैको सहयोगमा संसदमा एमसीसीलाई पास गरेको छ यसले देशमा रहेको भ्रम र अन्योलको माहोललाई समाप्त गरेको छ,' महतले भने।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण प्रस्तुतिकै कारण एमसीसी पारित भएको उनले तर्क गरे। 

'हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण प्रस्तुति परिपक्वता र धैर्यताले ले यो विन्दुमा समझदारीका साथ पुगेर संसदबाट अनुमोदन गर्ने सिर्जना भयो। त्यसको लागि पार्टीको तर्फबाट उहाँलाई धन्यवाद दिन चाहन्छु,' प्रवक्ता महतले भने। एमसीसीमा नेपाली कांग्रेसले खेलेको भूमिकालाई नेपाली जनताले पनि प्रशंसा गरिरहेको उनको दाबी रह्यो।

गठबन्धनका दलहरुको सहयोगमै यो सम्भव भएको उल्लेख गर्दै उनले नेपाली नागरिकको सहयोगमै एमसीसी अनुमोदन भएको बताए। 'गठबन्धनमा रहेका सबै दलको सहयोग रह्यो। त्यसका लागि कांग्रेस धन्यवाद दिन चाहन्छ। सम्पूर्ण नागरिक समाज र आम नागरिकले भ्रमलाई चिर्न महत्वपूर्ण प्रयास गर्नुभयो,' उनले भने।

एमसीसी शुद्ध विकास परियोजना भएकोले आगामी दिनमा पनि अवरोध आएमा कांग्रेस त्यस्ता भ्रम चिर्न लागिरहने महतले बताए। 'बाँकी अफवाह भए त्यसलाई पनि चिर्न कांग्रेस लागिरहन्छ। यो शुद्ध विकास परियोजना हो,' महतले भने। एमसीसी परियोजना अब चाँडै लागूतर्फ लागेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell