PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

युद्धविराम र तत्काल सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्तमा भएन सहमति, रुससँग फेरि दोस्रो चरणको वार्ता हुने



युद्धविराम र तत्काल सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्तमा भएन सहमति, रुससँग फेरि दोस्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीच भएको शान्तिवार्ताको पहिलो चरण सकिएको छ। बेलारूसको सीमा क्षेत्रमा भएको वार्तामा युक्रेनले सबै रुसी सेनालाई आफ्नो क्षेत्रबाट फिर्ता गर्न मागसहित तत्काल युद्धविरामको प्रस्ताव रुससँग गरेको थियो। तर वार्ताले ठोस निष्कर्ष निकालेन। पुन: अर्को चरण बस्ने गरी वार्ता टुंगिएको हो।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आइतबार रुससँग वार्ताका लागि तयार रहेको बताएका थिए। दोस्रो चरणको वार्ताअघि थप छलफलका लागि दुवै देशका प्रतिनिधि आ-आफ्नो राजधानी सहरमा फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले बताए। 'वार्तामा सहभागी प्रतिनिधिहरू राजधानी फर्किएका छन्,' उनले भने, 'छिट्टै दोस्रो चरणको वार्ताका लागि भेट्न सहमत भएका छौं।'

युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकासेनबीच बीचको टेलिफोन संवादपछि बेलारुसको सीमामा वार्ता भएको थियो। रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले  दुई पक्षबीच सहमतिका केही बिन्दु फेला परेको र त्यसले पूर्वानुमान गर्न सकिने प्रतिक्रिया दिए।

युक्रेनले यसअघि बेलारुसमा वार्ता गर्न अस्वीकार गरेको थियो। किनकि त्यहाँ रुसी सेनाहरू तैनाथ थिए।

संयुक्त राष्ट्रसंघले युक्रेनमा सात बालबालिकासहित १०२ सर्वसाधारणको मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले दसौं हजार मानिस रुसको आक्रमणका कारण विस्थापित भएको बताएको छ। तीमध्ये धेरैजसो पोल्याण्ड पुगेका छन्। यस्ता करिब ४ लाख मानिस विस्थापित भएको उसले जनाएको छ। हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा उनीहरुले शरण खोजिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell