PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रसियाविरुद्धको लडाइँमा सामेल भएर 'हनिमुन' मनाइरहेका युक्रेनी दम्पती



रसियाविरुद्धको लडाइँमा सामेल भएर 'हनिमुन' मनाइरहेका युक्रेनी दम्पती

युक्रेनमा एक नवविवाहित जोडीले रसियाविरुद्धको लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएका छन्। विवाह भएको केही घण्टामै रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। पहिलो दिनदेखि नै उनीहरू स्वदेशको रक्षाका लागि खटिएका हुन्।

यारिना एरिभा र स्वियाटोस्लाभ फुरसिनले आफ्नो देशको रक्षा गर्न लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएको सीएनएनले उल्लेख गरेको छ।

उनीहरुको विवाह मेमा हुने तय भएको थियो। तर, युक्रेनको प्रतिरक्षामा सामेल हुन उनीहरु गतहप्ता हतारमा विवाह बन्धनमा बाँधिएका हुन्।

हनिमुन बनाउने क्रममा उनीहरुले ‘केमोफ्लाज’ ज्याकेट लगाएका थिए भने हातमा राइफल थियो। रसियाको घेराबन्दीकै बीच आफूहरुले हनिमुन मनाएको र आफ्नो मातृभूमिमा आक्रमण गर्ने रसियाली सेनाविरुद्ध लड्न हतियार उठाएको उनीहरुको भनाइ छ।

‘हाम्रो यो नयाँ वास्तविकताबारे बुझ्न गाह्रो छ,’ एरिभाले भनिन्।

वसन्त ऋतुको सुरुवातमा यतिबेला सामान्यतया मानिसहरूले सूर्यमुखी (युक्रेनको राष्ट्रिय फूल) छर्किने गरेको भन्दै उनले त्यसको सट्टा अहिले रसियाको आक्रमणको प्रतिरक्षामा उत्रिएको बताइन्।

‘यहाँ कसैले पनि हामी हार्छौं भनेको सुनिँदैन, कोही रोइरहेको पनि सुनिँदैन। सबैले जित्ने विश्वास लिएका छन्। कति समय लाग्छ भन्ने मात्र हो,' उनले भनिन्, 'त्यसैले, यत्रो ठूलो संख्यामा मानिसहरू लड्न तयार भएको देख्दा म निकै खुशी छु। आफ्नो भूमिका लागि सबै मार्न तयार छन्। यो युद्धमा हाम्रो जितमा कुनै शंका छैन।’

उनका पति फुरसिन लीभको पश्चिमी शहरमा जन्मेका थिए। उनी भन्छन्, ‘हामी सधैँ स्वतन्त्र हुन चाहन्छौँ। हामी आफ्नो स्वतन्त्रताको लागि लड्न तयार छौँ।’

लडाइँमा होमिँदै गर्दा उनी आफ्नी पत्नी, आमाबाबु र बहिनीलगायत परिवारको सुरक्षाको लागि चिन्तित छन्। तर, तर परिवारको सुरक्षाको लागि उनी जे गर्न पनि तयार छन्।

युद्धका बीच पनि जीवन चलिरहेको एरिभा बताउँछिन्। भन्छिन्, ‘अन्तभन्दा यहाँको जनजीवन फरक छ, तर यो नै हाम्रो जीवन हो। मानिसहरु हँसिमजाक पनि गरिरहेका छन्। यस्तो देख्दा पनि निकै रोचक लाग्छ। युद्ध सुरु भएपछि यहाँको जनजीवन परिवर्तन भएको हो।’

यी दम्पतीले अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनलाई पैसा, खाना, हतियार र चिकित्सा सहयोग गर्न माग गरिरहेका छन्। रसियामाथि थप प्रतिबन्ध लगाउन पनि उनीहरुले आग्रह गरेका छन्।

आफ्नो परिवार र साथीहरूसँग एक ठाउँमा जम्मा भएर वाइन पिउँदै सबैले ‘हुर्रे! युद्ध सकियो, हामीले जित्यौँ’ भन्ने समय पनि छिट्टै आउने फुरसिनको आशा छ।

त्यो समय आउनुअघि फुरसिनले आफू ‘विश्वको स्वतन्त्रताको लागि’ लडिरहेको रसिया र रसियाली जनतालगायत संसारका सबैलाई याद दिलाउन चाहन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell