PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बिहानसम्मै पशुपतिमा भक्तजनको भीड, १० लाखले गरे दर्शन



बिहानसम्मै पशुपतिमा भक्तजनको भीड, १० लाखले गरे दर्शन

काठमाडौँ : साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ। तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ।

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको दृश्य हो यो। बुधबार बिहानसम्म यो माहोल कायम थियो।

महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन। मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले बताए।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो। बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो। यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए।

पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो।

पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell