रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो संवाद भएको छ। संवादमा युक्रेनको खार्किभ सहरमा फसेका भारतीय विद्यार्थीलाई तत्काल उद्धार गर्ने विषयमा छलफल भएको क्रेमलिनले जनाएको छ।
युद्धग्रस्त क्षेत्रमा भारतीय नागरिकलाई तत्काल सुरक्षित तरिकाले उद्धार गरी आफ्नो देश फर्काउने वातावरण मिलाउन रुसी सैनिकलाई निर्देशन दिइसकेको संवादका क्रममा पुटिनले बताएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ।
खार्किभबाट भारतीय विद्यार्थीको समूहलाई आपतकालीन उद्धारका लागि रुसले पहल गरिरहेको पनि विज्ञप्तिमा जनाइएको छ।
बुधबार रुसी सैनिक प्यारासुटमार्फत पूर्वी सहरमा झरेपछि त्यहाँका सडकमा हमला भएको युक्रेनी अधिकारीहरुले बताएका थिए।
यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनी अधिकारीहरूले भारतीय विद्यार्थीको समूहलाई नियन्त्रणमा लिएको बताएको छ। 'उनीहरूलाई पूर्णरुपमा बन्धक बनाएर राखिएको छ,' मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले टेलिभिजन ब्रिफिङमा भनेका छन्।
तर यो भनाइलाई भारतले अस्वीकार गरेको छ। आफ्ना विद्यार्थीहरूलाई युक्रेनमा बन्धक बनाएको खबर गलत भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतीय विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ।
'कुनै पनि विद्यार्थीलाई बन्धक बनाएको रिपोर्ट प्राप्त गरेका छैनौं। खार्किभ र नजिकका क्षेत्रमा विद्यार्थीलाई पश्चिमी भागमा लैजान विशेष रेलको व्यवस्था गर्न युक्रेनी अधिकारीलाई अनुरोध गरेका छौं,' मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने।
पूर्वी युक्रेनी सहर खार्किभमा भएको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको नयाँ दिल्लीले घोषणा गरेको थियो। मङ्गलबार त्यहाँ रुसी आक्रमणमा २१ जनाको मृत्यु भएको उक्त क्षेत्रका गभर्नरले बताए ।
भारतले करिब १२ हजार आफ्ना नागरिक सुरक्षित उद्धारको पहल गरिरहेको छ। गत बिहीबार युक्रेनमा आक्रमण गर्नुअघि युक्रेनका विभिन्न ठाउँमा २० हजार भारतीय थिए। त्यसयता, करिब ८ हजारले युक्रेन छाडिसकेका छन्।