पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। शुक्रवार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलय पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त भनाई राखेका हुन्।
'७४ सालको चुनावमा हाम्रो अवस्था कस्तो थियो हामीले बुझ्नुपर्छ। हामीले पार्टीभित्रको एकता र उत्साह कायम राख्न सके र क्याम्पेन राम्रो गरे सानदार ढंगले हामी पहिलो पार्टी बन्छौ। स्थानीयमा पहिलो बनेपछि आम निर्वाचनमा सजिलो हुन्छ,' महामन्त्री थापाले भने, 'तालमेल अथवा कसरी चुनाव लड्छ भन्ने कुरा आगमी केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ।'
महामन्त्री थापाले चुनाव तोकिएकै समय हुने ठोकुवा गरे। 'वैशाख ३० गते निर्वाचन हुन्छ। अलमल हुने कुनै कुरा छैन। स्थानीय चुनावको बारेमा शंका गर्नुपर्ने कारणै छैन,' थापाले भने, 'सबलाई अब चुनाव लाग्यो। निर्वाचन ३० गतेको तलमाथि एक दिन पनि हुँदैन।'
निर्वाचनका लागि अब 'वार' शुरु भइसकेको थापाले बताए। 'वारको बेला शुरु भइसक्यो। हामी कहाँ कसरी लड्ने भन्ने तयारी गर्ने बेला भइसक्यो। अब जम्म ७४ दिन बाँकी छ।'
कांग्रेसले फागुनको अन्तिम साताबाट चुनावी अभियान शुरु गर्ने उनले बताए। 'फागुन २९ बाट घर जाउ काँग्रेस जिताउ अभियान शुरु हुन्छ। ७७ जिल्लाका लागि केन्द्रीय सदस्य खटाइनेछ। फागुन २७ गते केन्द्रीय समितिको बैठक राख्छ। सात वटा प्रदेशमा सात सहमहामन्त्री खटाउँनेछ। चैत २७ र २८ गते उम्मेद्वार तयार हुन्छ। अभियानको दुईटा चरण उम्मेद्वार बनाउनुअघि उम्मेद्वार आइसकेपछि अर्को चरण। मतदाता संवाद गर्छौ। नयाँ भोटरसँग संवाद गर्छौ।'