PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनकपुर साहित्य महोत्सवमा आयोजकको आक्रोश : मुख्यमन्त्री र नगर प्रमुख मिठो मात्रै बोल्छन्, सहयोग गर्दैनन्



सुमित मिश्र

जनकपुर साहित्य महोत्सवमा आयोजकको आक्रोश : मुख्यमन्त्री र नगर प्रमुख मिठो मात्रै बोल्छन्, सहयोग गर्दैनन्
Photo : Design House / All Media Solution

जनकपुरधाम : मिथिला र मधेशको संस्कार, संस्कृति र साहित्यको विषयमा देशैभर प्रचारप्रसार गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सव संचालन भइरहेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीवारबाट सुरु भएको महोत्सवमा मधेश केन्द्रित विभिन्न सत्रहरु संचालन हुँदैछन्।

मिथिला फाउण्डेशन नेपालको आयोजन, नविल बैंकको प्रायोजनमा सुरु भएको त्रिदिवसिय ‘जनकपुर साहित्य महोत्सव’को तेस्रो संस्करण जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको हो। महोत्सवमा यहाँको कला, संस्कृति, लोकभाका सुनाउने, बोलाउने र जनकपुर चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

तीन दिने महोत्सवमा १२ वटा सत्र समावेश गरिएको छ। पहिलो दिन ‘माई जनकपुरधाम’ विषयमा विद्यार्थीहरुबिच वक्तृत्वकला प्रतियोगिता, झरीझरी नाच र ‘मधेस साहित्य र म’ सत्रमा साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाको एकल सत्र रहेको थियो। पहिलो दिनको अन्त्यमा साँझ कुटुम्बको साँस्कृतिक प्रस्तुती जानकी मन्दिरमा प्राङ्गनमा सम्पन्न भयो।

'राज्य बन्यो उदासीन'

बिहीवारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भाषा, साहित्य, संस्कृति चिनाउने एउटा महत्वपूर्ण स्थल साहित्य महोत्सव भएको बताएका थिए।

उनले भने, ‘जनकपुरको भूमि परापूर्वकालदेखि नै विद्वता, विदुषि, विद्वानहरुको नामले गौरवान्वित हुने ठाउँ हो।’

मिथिला र मधेशको गाथाको सम्बन्धमा मुख्यमन्त्री राउतले ज्ञानको अलौकिक केन्द्र र विद्यापतिको स्थल भूमिबारे चर्चा गर्दै भने, ‘यहाँको रिति संस्कृति, परम्परा आफैँमा उत्कृष्ट र पहिचानवादी सामर्थ्यको छ। जसलाई उजार गर्न यहाँको सभामा स्थल, साहित्य स्थल महोत्सव हो।’

राजनीति, साहित्य, चिन्तन, भाषा र अध्यात्ममा चर्चा गरिने महोत्सवमा प्राचीन उद्गमस्थल मिथिलानगरी जनकपुरधामको साहित्य, यहाँको संस्कृति विरासत, कला र जनकपुरलाई देशैभर चिनाउने मानिससँग जोड्ने सेतुको रुपमा ‘जनकपुर साहित्य महोत्सव’ भुमिका खेल्ने प्रदेशसभा सदस्य परमेश्वर साहले बताए।

उनले भने, ‘फरक-फरक विचारका व्यक्तिहरुलाई छलफलको अवसरबाट जनकपुरको पर्यटन प्रवर्द्धनका साथै यसले मधेश र मिथिलाको खानकी पस्कन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।’

जनकपुर साहित्य महोत्सवको विषयमा प्रकाश पार्नका लागि यस महोत्सवका परिकल्पनाकार मनिष झा मञ्चमा उपस्थित थिए। उनले महोत्सवको विषयमा जानकारी त गराए तर उनले आफ्नो मन्तव्यमा राज्यप्रतिको आक्रोशले सबैको ध्यान केन्द्रित गराएको थियो। आफ्नो मन्तव्यको क्रममा झा प्रदेश सरकार र जनकपुरधाम उपमहानगरप्रति आक्रोशित सुनिए।

उनले जनकपुरधामलाई चिनाउने उद्देश्यले आयोजना गरिएको महोत्सव तेस्रो संस्करणसम्म पुग्दा पनि प्रदेश सरकार र स्थानीय सरकारको नेतृत्व गरिरहेका लाल किशोर साहबाट कुनै प्रकारको सहयोग नपाएको गुनासो गरे।

उनले भने, ‘मेयरले महोत्सवकै लागि करिब ५ लाख रकम छुट्याउनु भएको थियो तर एक्कासी हिजो आएर तिमीलाई दिन्न भनेर जवाफ फर्काउनु भयो। खै के कुरा मिलेन, कुन सेटिङ मिलेन मलाई थाहा भएन।’

झा यतिमै रोकिएनन्। उनले मधेश प्रदेशका मुख्यमन्त्रीकै सामुन्ने नै प्रदेश सरकार महोत्सवप्रति उदासीन भएको आरोप लगाए।

‘मुख्यमन्त्रीलाई पनि मैले सहयोग गर्नुस् न भनेको थिएँ। तर, अहँ गर्नु भएन,’ उनले भने।

‘मुख्यमन्त्री र मेयरलाई भन्न चाहन्छु’, झाले भने, ‘भाषणमा जस्तै साँच्ची यस प्रकारको कार्यक्रम मन पराउनु हुन्छ भने सहयोग गर्नुस्। यस्ता कार्यक्रमलाई बढावा दिनुस्। तर, मुख्यमन्त्री जी र मेयर साहब मिठो बोल्नु हुन्छ सहयोग गर्नुहुन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell