इस्लामावाद : पाकिस्तानको एक सिया समुदायको मस्जिद नजिकै भएको बम विस्फोटन हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५६ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यम डनन्युजले जनाएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रवार घटना भएको हो।विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ। सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पीडित भएकाहरुलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए।
घटनामा परी एक पाकिस्तानी प्रहरीको पनि मृत्यु भएको बताइएको छ। उक्त विस्फोटबारे प्रारम्भिक सूचनाहरु आए पनि विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ।