PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भोलिबाट जनकपुरदेखि पोखरासम्म सिधा हवाइ उडान सुरु हुने



भोलिबाट जनकपुरदेखि पोखरासम्म सिधा हवाइ उडान सुरु हुने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान भोलिदेखि सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाइ उडान हुने जनाएपनि केही प्राविधिक कारणले उडान हुन सकेको थिएन।

जनकपुरधाम विमानस्थलका प्रवन्धक योगेन्द्रनाथ कुँवरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ गत बुधवारदेखि नै सुरु गरिएपनि नियमित उडान भने भोलिदेखि सुरु हुने जानकारी दिएका छन्।

सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको कुँवरले बताए।

कुँवरले भने, ‘अहिले प्रत्येक हप्ताको सोमवार, बिहीवार र शनिवार जनकपुरधामबाट पोखराका लागि उडान हुनेछ।’

अब जनकपुरधाम आउने पर्यटक पोखरा तथा पोखरा आउने पर्यटक केही मिनेटमै हवाइ यात्रामार्फत धार्मिक नगरी जनकपुरधामको भ्रमण गर्न सक्ने छन्। यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

केही महिनाअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमणमा गएका बेलामा दुई पर्यटकीय शहरका बिचमा सिधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell