काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले बिहीबार र शुक्रबार बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ।
बिदाइका अवसरमा साधुसन्तलाई फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको थियो। संस्थानले ९ सयदेखि ८ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। नागाबाबालाई ८ हजार र अन्यलाई ९ सयभन्दा माथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए।
कोषले पनि १०५ देखि ५ हजार १ सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने शुक्रबार गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। कोषले अहिलेसम्म करिब ३ हजार ५ सय साधुसन्तलाई बिदाइ गरेको जनाएको छ।रासस