PahiloPost

Jul 9, 2024 | २६ असार २०८१

सिन्धुपाल्चोक एमालेमा आज जुरे पहिरोभन्दा ठुलो पहिरो गयो : केदार क्षेत्री



सिन्धुपाल्चोक एमालेमा आज  जुरे पहिरोभन्दा ठुलो पहिरो गयो : केदार क्षेत्री

काठमाडौं :  नेकपा एमालेबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी मुख्यालय सानेपामा सदस्यता दिँदै स्वागत गरे।

वाग्मती प्रदेश एमालेको सदस्यसमेत रहेका उनले आफू गाउँको विकासका लागि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेको बताए। गत फागुन ४ गते एक विज्ञप्ति जारी गर्दै क्षेत्रीले एमाले त्यागेका थिए।

आफूले बाको संस्कृति छाडेर दाइको संस्कृति आँगल्न कांग्रेस आएको उनको भनाई थियो।

'नेकपा एमालेमा बाको संस्कृति छ। बाको संस्कृति छाडेर दाइको संस्कृतिमा आएको छ। एकजनाले त अझ हजुरबा पनि भन्छन्। बाको संस्कृति त्यागेर दाइको संस्कृतितिर आएको,' क्षेत्रीले भने, 'म कांग्रेसमा नेता हुन आएको हैन। म योगदान दिन आएको हुँ। मेरो जिल्लाको विकास गर्न नेपाली कांग्रेसमा प्रवेश गर्न आएको। पदका लागि हैन।'

आफूले दु:ख गरिररहेको घर त्यागेर छिमेकीको घरमा आएको उल्लेख गर्दै क्षेत्रीले कांग्रेसमा आफ्नो स्थान आफ्नै भूमिकाले तय गर्ने बताए। 'आफूले बनाएको घर त्यागेर छिमेकीको घरमा आएको छु। म बस्ने स्थान मेरो भूमिकाले तोक्छ,' उनले भने, 'सकारात्मक नकारात्मक दुबै अनुभव छन्। नकारात्मक अनुभवलाई त्यागेर म आएको छु।'

क्षेत्रीसहित एमालेबाट सयभन्दा बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। यही विषयलाई उल्लेख गर्दै क्षेत्रीले सिन्धुपाल्चोक एमालेमा जुरे पहिरोभन्दा ठुलो पहिरो गएको दाबी गरे। 'सिन्धुपाल्चोक जुरे पहिरोले चर्चित छ। एमाले सिन्धुपाल्चोकमा आजबाट यो भन्दा ठुलो पहिरो गएको छ। यो पहिरोको व्यवस्थापन नेपाली कांग्रेसलेमात्र गर्न सक्छ,'  क्षेत्रीले दाबी गरे।

कांग्रेस प्रवेश गरेको दिन जिन्दगीकै खुसीको दिन भएकोसमेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell