PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अध्ययन भन्छ : कोभिडविरुद्धको खोप र मृत्युबीच कुनै सम्बन्ध छैन



अध्ययन भन्छ : कोभिडविरुद्धको खोप र मृत्युबीच कुनै सम्बन्ध छैन

कोभिड-१९ को खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युबीच कुनै सम्बन्ध नभएको एक अध्ययनले देखाएको छ। अमेरिकामा गरिएको खोपको ‘साइड इफेक्ट’ सम्बन्धी एक प्रमुख अध्ययनमा दुई कोभिड खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युको सङ्ख्याबीच कुनै सम्बन्ध नभेटिएको हो।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले फाइजर र मोडर्ना खोपको ‘साइड इफेक्ट’बारे अध्ययन गरेको थियो। यी दुई खोपको रेकर्ड गरिएकामध्ये ९२ प्रतिशत ‘साइड इफेक्ट’ सामान्य रहेको सीडीसीले बताएको छ।

२०२१ को जुनसम्म अमेरिकामा खोप लगाएपछि करिब ४ हजार ५ सय जनाको मृत्यु भएको थियो। तर, मृत्यु र खोपको सम्बन्ध पुष्टि गर्न डेटामा कुनै असामान्य ‘प्याटर्नहरू’ फेला परेको छैन।

अध्ययनका लेखक डा टम शिमाबुकुरोले भने, ‘दुवै एमआरएनए खोपको प्रतिक्रिया सामान्यतया हल्का देखिए र एक वा दुई दिनपछि कम भएको पाइयो। यसले क्लिनिकल परीक्षण र स्वीकृतिपछिको अनुगमनका रिपोर्टलाई पुष्टि गरेको छ।’

मुटु पोल्ने समस्या
अनुसन्धानकर्ताहरूले डिसेम्बर २०२० र जुन २०२१ को बीचमा अमेरिकामा दिइएका करिब ३० करोड खोपको डोजबाट देखिएका ‘साइड इफेक्ट’को अध्ययन गरेका थिए।

सीडीसी र ‘यूएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)’ द्वारा सञ्चालित ‘भ्याक्सिन एड्भर्स इभेन्ट रिपोर्टिङ सिस्टम (भीएईआरएस)’ को प्रयोग गरेर सर्वसाधारण, स्वास्थ्य सेवा प्रदायक र औषधि कम्पनीका सदस्यहरूले कुनै पनि सम्भावित ‘साइड इफेक्ट’बारे रिपोर्ट गर्न सक्ने व्यवस्था गरिएको थियो।

यस्तै, अर्को विधि ‘भी-सेफ’ प्रयोग गर्ने व्यवस्था छ, जसमा मानिसहरूले आफ्नो स्मार्टफोनमा सर्वे फाराम भरेर असरबारे जानकारी गराउन सक्छन्। दुवै विधि प्रतिकूल असरबारे मानिसहरुले गरेको रिपोर्टमा आधारित थियो।

अध्ययनको नतिजा ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ। जसअन्तर्गत सीडीसीले भीएईआरएसबाट ‘साइड इफेक्ट’का ३ लाख ४० हजार रिपोर्ट प्राप्त गरेको थियो। तीमध्ये ९२ प्रतिशत रिपोर्टमा सामान्य असर देखिएको थियो।

‘साइड इफेक्ट’को रुपमा सबैभन्दा बढी टाउको दुख्ने, थकाइ लाग्ने, ज्वरो आउने र जाडो महसुस हुने समस्या देखिएको थियो। गम्भीर भनिएका २२ हजार ‘साइड इफेक्ट’का रिपोर्टहरूमध्ये सबैभन्दा बढी सास फेर्न गाह्रो हुने समस्या थियो।

अन्य गम्भीर असरमा ‘मायोकार्डाइटिस’ भनिने मुटु दुख्ने समस्या यसअघि नै फाइजर र मोडर्ना खोपमा पहिचान गरिएको थियो। यद्यपि, त्यो ‘साइड इफेक्ट’ निकै दुर्लभ रहेको बताइएको छ।

यी कोभिड खोप मुख्य रूपमा अमेरिकामा आपतकालीन प्रयोग प्रावधानअन्तर्गत स्वीकृत गरिएको भएकाले डाक्टरले पुष्टि नगरे पनि स्वास्थ्य सेवा प्रदायकहरूलाई खोप लगाएपछिका सबै मृत्युहरू रिपोर्ट गर्न अनिवार्य गरिएको थियो।

जुन २०२१ सम्मको छ महिनाको अवधिमा करिब ४ हजार ५ सय मृत्युहरू रेकर्ड गरिएको थियो। मृत्यु हुनेमा ६० वर्ष र त्यसमाथिका मानिसहरू ८० प्रतिशतभन्दा बढी रहेका थिए।

मृत्युदर
‘आकस्मिक रुपमा कोभिड-१९ को खोपहरू विशेषगरी वृद्ध जनसंख्याको लागि तीव्र गतिमा प्रयोग हुनु अभूतपूर्व थियो’, सीडीसीका डा डेभिड शेले भने, ‘उनीहरूको उमेरको कारणले पनि यस समूहका मानिसहरुमा पहिले नै सामान्य जनसंख्याको तुलनामा उच्च मृत्यु दर थियो। र, हाम्रो अध्ययनको नतिजाहरूले पनि यही 'प्याटर्न' देखियो।’

अनुसन्धानकर्ताहरुले ‘भी-सेफ’ सर्वेक्षण भरेका १ प्रतिशतभन्दा कम मानिसले मात्रै खोपपछि कुनै किसिमको चिकित्सकीय हेरचाह खोजेको बताएका छन्।

यस अध्ययनमा संलग्न नरहेकी भ्यान्डरबिल्ट युनिभर्सिटीकी मेडिसिन प्राध्यापक डा एलिजाबेथ फिलिप्स भन्छिन्, ‘खोप लगाएका हजार जनामध्ये एक व्यक्तिमा प्रतिकूल प्रभाव देखिन सक्छ, त्यसमा पनि धेरैजसो जटिल प्रभाव देखिएका छैनन्। ६ महिनाको भीएईआरएस डाटाले यही कुरालाई प्रमाणित गरेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell