PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

युक्रेनको बाल तथा प्रसूति अस्पतालमा रसियाको बम आक्रमण, जेलेन्स्कीले भने : ‘नरसंहार’



युक्रेनको बाल तथा प्रसूति अस्पतालमा रसियाको बम आक्रमण, जेलेन्स्कीले भने : ‘नरसंहार’
Photo: Evgeniy Maloletka/AP Photo

रसियाली बम आक्रमणका कारण युक्रेनको मरिउपोलस्थित बालबालिका र प्रसूति अस्पताल ‘पूर्ण रूपमा ध्वस्त’ भएको युक्रेनी सरकारले दाबी गरेको छ। गोलाबारीका कारण पुनः धेरै शहरहरूबाट सामूहिक उद्धार रोकिएको युक्रेनी अधिकारीहरूलाई उदृत गर्दै द गार्डियनले उल्लेख गरेको छ। आक्रमणबाट कम्तिमा १७ जना घाइते भएका छन्, जसमा श्रमिक महिला समेत रहेका छन्।

युक्रेनका विदेशमन्त्री डिमिट्रियो कुलेबाले रसियाले मरिउपोलमा ‘४ लाख मानिसहरूलाई बन्धक बनाएको’ आरोप लगाएका छन्। सो स्थानका धेरै मानिसहरु एक हप्ता भन्दा बढी समयदेखि बिजुली, न्यानो, पानी तथा फोन नेटवर्कविहीन रहेको उनले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाको सो आक्रमणको निन्दा गरेका छन्।

‘बाल अस्पताल र प्रसूति वार्डले रसियालाई कसरी जोखिम सिर्जना गरेका थिए र? अस्पताल, प्रसूति वार्डसँग डराएर र त्यसलाई नष्ट गर्ने रसिया कस्तो खालको देश हो?’ जेलेन्स्कीले टेलिग्राममार्फत भनेका छन्।

उनले थपे, ‘अस्पताल र विद्यालयहरू ध्वस्त भएका छन्। चर्च र सामान्य भवनहरू पनि ध्वस्त छन्। मानिसहरु मारिएका छन्। बालबालिकाहरु मारिएका छन्। बालबालिकाको अस्पतालमा भएको हवाई बम आक्रमण युक्रेनमा भइरहेको नरसंहारको सबैभन्दा ठूलो प्रमाण हो।’

पश्चिमा देशहरुको चेतावनीका बिच मस्कोले आक्रमण अझ क्रूर बनाउँदै लगेको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले केही सुस्ताएको युद्धलाई पुन: गति दिन खोजेको पनि बताइएको छ। स्थानीय अधिकारीहरूले बालबालिका र प्रसूति वार्डहरू सहितको ६०० शय्याको अस्पतालको क्षतिलाई ‘विशाल’ भनेर उल्लेख गरेका छन्।

त्यहाँका उपमेयर सर्गेई ओर्लोभले शहरमा लगातार गोलाबारी भइरहेको र त्यसमा परी हालसम्म एक हजार १७० बासिन्दाहरुको मृत्यु भएको बताएका छन्। जसमध्ये ४७ जनालाई बुधवार सामूहिक चिहानमा गाडिएको उनले बताए।

‘यो मध्ययुगीन अवस्था जस्तो छ’, उनले भने, ‘यो पूर्ण रुपमा नरसंहार हो। आक्रमण केवल विश्वासघात मात्रै होइन, यो युद्ध अपराध हो। उनीहरूले हामीमाथि हवाइ आक्रमण, बम आक्रमण अनि रकेट लन्चरबाट पनि आक्रमण गरिरहेका छन्।’

एसोसिएटेड प्रेस (एपी)ले पोस्ट गरेको भिडियोमा अस्पताल आक्रमण भएको ठाउँमा धेरै घाइते व्यक्तिहरू देखिएका छन्।

रेड क्रसले सो बन्दरगाह शहरको अवस्थालाई ‘सर्वनाशकारी’ भनेर उल्लेख गरेको छ। यता, उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो स्थितिलाई ‘विपत्तिजनक’ बताउँदा जेलेन्स्कीले त्यहाँको विनाश र पीडालाई नाजीहरूले गरेको विनाशसँग तुलना गरेका छन्।

त्यहाँ रहेका पत्रकारहरूले सडकमा शवहरू गाडिएको र भोका स्थानीयहरू खानाको खोजीमा पसल फोडेर छिरेको, पानीको लागि हिउँ पगालिएको तथा हजारौँ स्थानीयहरु ‘बेसमेन्ट’मा आश्रय लिइरहेको रिपोर्ट गरेका छन्।

जेलेन्स्कीले बुधवार विभिन्न देशविरूद्ध खतराको स्तर ‘अधिकतम’ पुगेको बताउँदै फेरि पनि पश्चिमाहरुलाई ‘नो-फ्लाइ’ जोन लागू गर्न आह्वान गरेका थिए। 

स्काई न्युजसँगको अन्तर्वार्तामा उनले रसियालीहरूलाई ‘नाजी’ संज्ञा दिँदै भने: ‘यदि तपाईँहरु यी नाजी र यो आतंकविरूद्ध एकजुट हुनुहुन्छ भने आकाश बन्द गर्नुहोस्। मलाई धेरै पटक, लाखौँ पटक आग्रह गर्न बाध्य नपार्नुहोस्। आकाश बन्द गर्नुहोस्।’ अन्यथा ‘लाखौं’ मानिसहरूले ज्यान गुमाउने उनले चेतावनी दिए।

वासिङ्गटनमा बोल्दै अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन र बेलायती विदेश सचिव लिज ट्रसले नेटोको अडानलाई पुनः दोहोयाए। युक्रेनमा ‘नो-फ्लाई जोन’ लागू गरिए नेटो रसियासँग प्रत्यक्ष युद्धमा होमिने उनीहरुले बताएका छन्। जेलेनस्कीले भने हाल नेटोको सदस्यता नलिने बताइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell