PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

दिसा परीक्षणबाट प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ प्यान्क्रियाटिक क्यान्सर



दिसा परीक्षणबाट प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ प्यान्क्रियाटिक क्यान्सर

दिसा परीक्षणले डाक्टरहरूलाई प्रारम्भिक रुपमा ‘प्यान्क्रियाटिक क्यान्सर’ पत्ता लगाउन मद्दत गर्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। उनीहरूले १३६ मानिसमा गरिएको अध्ययनमा सो अवधारणाको परीक्षण गरिरहेका छन्।

जर्नल ‘गट’मा प्रकाशित अध्ययनको निष्कर्षमा पत्ता लगाउन सकिने पेटको ब्याक्टेरियाहरूमा आएको परिवर्तनले ट्युमर उत्पन्न भएको चेतावनीको संकेत गर्न सक्ने उल्लेख छ।

प्रायजसो, प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक चरणमा लक्षण देखा पर्दैनन्। यसको मतलब सामान्यतया यो क्यान्सर पत्ता लाग्दा अधिक वृद्धि भइसकेको र उपचार गर्न गाह्रो हुने अवस्थामा पुगिसकेको हुने गर्छ।

क्यान्सर बढ्दै जाँदा पनि यसको अस्पष्ट लक्षण देखिन सक्छन्। जस्तै कि अपच हुने, आन्द्राको प्रकृति परिवर्तन हुने तथा केहीमा पेट वा ढाड दुख्ने। केही व्यक्तिहरू यसको निदान हुनुअघि जनरल फिजिसियन (जीपी) कहाँ धेरैपटक धाउने गर्छन्।

हाल सबैभन्दा बढी देखिने ‘प्यान्क्रियाटिक क्यान्सर’को रूप ‘डक्टल एडेनोकार्सिनो’ भएका २० मध्ये एकभन्दा कम बिरामी मात्रै पाँच वर्ष वा सोभन्दा बढी बाँच्ने गरेका छन्। यो क्यान्सरलाई सुरुवातको अवस्थामा नै पत्ता लगाउन सके समस्या सुधार गर्न सकिने चिकित्सकहरुको राय छ।

यो अनुसन्धानका लागि स्पेनी अनुसन्धानकर्ताको टोलीले मड्रिड र बार्सिलोना दुई स्थानका अस्पतालबाट बिरामीहरू समावेश गरेको थियो। केही बिरामीमा मात्रै ‘प्यान्क्रियाटिक डक्टल एडेनोकार्सिनोमा’ थियो। त्यस्तै, अन्य बिरामीलाई तुलनाको लागि ‘कन्ट्रोल ग्रुप’को रुपमा मात्रै चयन गरिएको थियो।

अनुसन्धानकर्ताले दुई समूहबीच कुनै स्पष्ट भिन्नता छ या छैन भनेर हेर्न स्वयंसेवकहरूबाट र दिसाका नमूना संकलन र विश्लेषण गरेका थिए।

थुकको नमूनाबाट कुनै उपलब्धि हासिल नभए पनि दिसाको नमूनामा भने केही फरकपन देखियो। जुन प्यान्क्रियाटिक क्यान्सरको निदान गर्न उपयोगी हुन सक्छ भन्ने टोलीको विश्वास छ।

त्यो आन्द्रामा रहेका ब्याक्टेरिया, फंगी तथा अन्य सूक्ष्मजीवको एक अलग ‘प्याटर्न’ वा ‘जिनोमिक प्रोफाइल’ थियो।

यसबाट बिरामीमा विशेष ‘माइक्रोबायोम’हरुको उपस्थिति क्यान्सरको सुरुवातकै अवस्थामा देखिन सक्ने र दिसामा माइक्रोबायोमले ​​प्रारम्भिक चरणमै क्यान्सरबारे संकेत गर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन्।

यस विषयमा थप अध्ययन हुनुपर्ने उनीहरुको भनाइ छ। केही अध्ययन यसअघिदेखि नै भइरहेका छन्।

जर्मनीका स्वतन्त्र अनुसन्धानकर्ताहरूले थोरै बिरामीमा यो निष्कर्ष प्रमाणित गरेका छन्। त्यस्तै, जापानमा पनि यसको परीक्षण भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell