काठमाडौं : नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले घेदुङको नवौं महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन्। शुक्रवार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङको सभाहलमा पत्रकार सम्मेलन गर्दै गोलेले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन्।
'अहिले सबै हिसाबले हामीले तयारी पूरा गरिसकेको अवस्था छ। कुनै प्राकृतिक विध्वंश नभए अब महाधिवेशन भयो। एक भयो, दुई भयो, तीन भयो,' अध्यक्ष गोलेले भने।
महाधिवेशन धुम्बराहीमा तीन दिन चल्ने
घेदुङको अधिवेशन धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा तीन दिनसम्म चल्नेछ। आइतवार दिउँसो १२ बजे उद्घाटन हुने कार्यक्रमको प्रमुख अतिथि घेदुङका पूर्वअध्यक्ष एवं सल्लाहकार परशुराम तामाङ रहनेछन्। उद्घाटन कार्यक्रममा तामाङ सांस्कृतिसम्बन्धी गीतसंगीत तथा झाँकी प्रस्तुत हुने अध्यक्ष गोलेले बताए।
'यसपटकको उद्घाटनमा ताम्बा, बोम्पो, लामादेखि, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्य रहनेछन्,' घेदुङका अध्यक्ष गोलेले भने।
उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। लगत्तै बन्द सत्रबाट सांगठनिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी रहेको छ।
महाधिवेशन फागुन २९ गते उद्घाटन भएर चैत १ गते सकिनेछ। महाधिवेशनका लागि अहिले जिल्लाबाट प्रतिनिधिहरु आउन थालेको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए।
यसवर्ष ८०० को संख्यामा प्रतिनिधि हुने घेदुङले जनाएको छ। तीनै तहबाट प्रतिनिधि आएको हुनाले प्रतिनिधि र पर्यवेक्षक धेरै हुन लागेको अध्यक्ष गोलेले बताए।
यसपटक घेदुङले तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघर्षको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन तय गरेको छ।
चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमिति कोरोना महामारीका कारण पटकपटक महाधिवेशनको समय सर्दै आएकोमा यसपटक भने तोकिएकै समयमा महाधिवेशन हुने अध्यक्षले गोलेले बताए। घेदुङको निर्वाचित कार्यसमितिकोमो अवधि ४ वर्षको हुने नियम रहेको छ।
पदाधिकारीको अझै लागेन टुंगो
घेदुङले अबको महाधिवेशनमा पदाधिकारी बढाउने गरी तयारी थाले पनि टुंगो भने अझै लागेको छैन। घेदुङका महासचिव एवं विधान मस्यौदा समितिका संयोजक बाबू घिसिङले अहिले रहेको ९ जना पदाधिकारीलाई बढाएर १९ जना बनाउने प्रस्ताव यसअघि गरेका थिए।
माघ २ गते घेदुङमा विधानमाथि छलफल गर्दै पदाधिकारीबारे सुझावसमेत संकलन गरेका थिए। यसबारेमा प्रश्न गर्दा अध्यक्ष गोलेले पदाधिकारी २१ जनाको बनाउने बताए। 'यसपटक पदाधिकारी बढेका छन्। सबैलाई पद पुग्छ होला। पदाधिकारी नै २१ जनाको पुग्छ होला। पास भयो भने,' पत्रकार सम्मेलनमा गोलेले भने।