कैलाली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने गठबन्धनमा सहमति भएको बताएका छन्। पार्टीको प्रशिक्षणका लागि धनगढी पुगेका प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाललगायतका नेतासँग सुदूरपश्चिमको मन्त्रिमण्डल पुनर्गठन गरेर नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरामा सहमति भएको बताएका हुन्।
‘सबै गठबन्धनका पार्टीहरू बाटै अन्य ठाउँमा सरकार छ तर सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रतिनिधित्व छैन। त्यस कारण अस्ति प्रधानमन्त्री, पूर्णबहादुर खड्कासमेत र माधवजी र म पनि बस्यौँ, त्यसमा यो विषयमा गम्भीर ढङ्गबाट छलफल पनि भयो। त्यसमा नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा सहमति भइसकेको छ। कति मन्त्रालय, कसरी र कहिले भन्ने कुरा मात्रै टुङ्गिन बाँकी छ,’ उनले भने।
सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर छलफल भएको उनले बताए। माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको उनको भनाई छ। मुख्यमन्त्री फेर्ने कुरा भने यथावत् राख्ने छलफल भएको प्रचण्डले बताए।