PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मधेश प्रदेशको चुनावी सरगर्मी, महानगर, उपमहानगरमा कुन दलको स्थिति कस्तो?



सुमित मिश्र

मधेश प्रदेशको चुनावी सरगर्मी, महानगर, उपमहानगरमा कुन दलको स्थिति कस्तो?

जनकपुरधामः निर्वाचन आयोगले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ। निर्वाचनमा मधेश प्रदेशमा सबै दलले पछिल्लो चुनावभन्दा बढी कसरत गर्नुपर्ने देखिन्छ। २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई कडा टक्कर दिएका थिए। तर अबको निर्वाचन मधेशवादी दलका लागि त्यति सहज देखिन्न।

मधेश प्रदेशमा १३६ पालिकामध्ये १ महानगरपालिका र ३ उपमहानगरपालिका छन्। जसमा महानगरपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीले जित निकालेको थियो। त्यस्तै तत्कालीन राष्ट्रिय जनता पार्टी, कांग्रेस र एमालेले १/१ उपमहानगरमा नेतृत्व हात पारेका थिए।

पछिल्लो एक वर्षमा राजनीतिक समीकरण मात्रै नभइ दलहरुको अवस्थामा समेत फेरिएको छ।

२०७४ को मत परिणाम अनुसार अहिले कुन दलले कस्तो स्थान बनाउँछन् भन्न कठिन छ। किनकि एमाले विभाजित भएको छ। जनता समाजवादी पार्टी पनि फुटकै चपेटामा छ। कुन दलको अवस्था के छ? स्थानीय चुनाव जनमतसंग्रह जस्तै हुने देखिन्छ।  

वीरगंज महानगरपालिका

२०७४ को निर्वाचनमा महानगर प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजय भएका थिए। नगर प्रमुखमा विजयकुमार सरावगीले १९ हजार ३९३ मत पाएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए। तत्कालीन राजपाका राजेशमान सिंहले १२ हजार १६५,  लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७०१, एमालेका महम्मद बसरुद्दिन अन्सारीले ८ हजार ६९९ र माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत पाएका थिए।

उपप्रमुखमा कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्।

महानगर प्रमुखमा सरावगी सोमबारमात्र एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगंज महानगरका ११ जना वडाध्यक्ष पनि एमालेमा प्रवेश गरे।

जनकपुरधाम उपमहानगरपालिका

मधेश प्रदेशको राजधानी हो जनकपुरधाम। २०७४ सालको चुनावमा तत्कालीन राजपाका लालकिशोर साह ठूलो मतान्तरसहित नगर प्रमुखमा विजय भएका थिए। निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए साह। उनले २१ हजार ९०३ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज साहले ११ हजार १६४ मत पाएका थिए।

उपप्रमुखमा समेत राजपाकै रीता झा विजयी भएकी थिइन्।  उनले १७ हजार १४७ मत प्राप्त गरेकी थिइन्। निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १० हजार ६०५ मत मात्रै ल्याएकी थिइन्।

राजपा समूहका अधिकांश नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेको समयमा जनकपुरधाम उपमहानगरका प्रमुख साह भने जसपालाई रोजेका थिए।

मधेश केन्द्रित पुराना शक्ति कमजो भएको अवस्थामा अन्य दलले चुनावमा बाजी मार्न सक्ने आकलन समेत गरिएको छ।

जीतपुर सिमरा उपमहानगरपालिका

बाराको जीतपुर सिमरा उपमहागरपालिकामा प्रमुख दुई दल कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने निश्चित जस्तै छ।

२०७४ को निर्वाचनमा कांग्रेस र एमालेबीच नै टक्कर भएको थियो। चुनावमा एमालेका कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए। पौडेलले १४ हजार ८६५ मत पाउँदा कांग्रेसका कृष्णवत सिंहले १२ हजार ४३ मत ल्याएका थिए।

उपप्रमुखमा एमाले उम्मेदवार सरस्वती चौधरीले १४ हजार ४५९ मत प्राप्त गरेकी थिइन्। निकटतम प्रतिद्वन्दी कांग्रेसकी नारायणी रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी थिइन्।

कलैया उपमहागरपालिका

२०७४ को निर्वाचन परिणाम अनुसार अब पनि कांग्रेस एमालेबीच नै प्रतिस्पर्धाको सम्भावना छ। २०७४ को निर्वाचनमा नगर प्रमुखमा १८७ मतको झिनो अन्तरले कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका थिए। यादवले १० हजार ९०३ पाएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा कांग्रेसकै रहिना खातुनले १० हजार ५३८ मत पाउँदा एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत पाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell