PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

जनप्रतिनिधिले उम्मेद्वार बन्न पदबाट राजीनामा दिनुपर्ने आयोगको निर्णयप्रति एमालेले उठायो प्रश्न



जनप्रतिनिधिले उम्मेद्वार बन्न पदबाट राजीनामा दिनुपर्ने आयोगको निर्णयप्रति एमालेले उठायो प्रश्न

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिले चुनाव लड्न पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचार संहिताको दफा ३६ मा राजीनामा दिनुपर्ने व्यवस्था छ।

आयोगले भने पदमा रहेकै व्यक्ति उम्मेद्वार बनेमा निर्वाचनको अनुगमन गर्न अप्ठेरो हुने भएकाले राजनीतिक दलहरुको परामर्शमै पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ। 'कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वाहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नु पर्छ,'आचारसंहितामा भनिएको छ।

एमालेको विरोध किन?

एमालेले आयोगको उक्त निर्णयमाथि प्रश्न उठाएको छ। संघमा प्रधानमन्त्री र मन्त्रीहरु वाहल हुदैँ चुनाव लड्न पाइने भए पनि स्थानीय तहमा भने सेवा नै बन्द गरेर निर्दलीयताको अभ्यास गर्न खोजिएको एमालेको आरोप छ। उपमहासचिव विष्णु रिमालले चुनावमा लड्न जनतालाई दिने सेवा नै बन्द गर्नु अनुपयुक्त भएको बताए। 'अध्यक्ष वा मेयर पद खाली गरि चुनावमा जानुअघि जनतालाई दिने सेवा नै बन्द गर्नुपर्ने किन?,'रिमालको प्रश्न छ। सबैभन्दा बढी ठाउँमा एमालेका जनप्रतिनिधि भएकाले आयोगले विवादास्पद निर्णय गरेको एमालेको बुझाइ छ।

आयोगको दाबी : ऐन र संविधानअनुसार आचारसंहित

आयोगले भने पदमै रहेर चुनाव लड्दा निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै राजीनामा गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। त्यसका लागि संविधान र स्थानीय तह निर्वाचन ऐनलाई आधार मानेर आचारसंहिता बनाएको बताएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने 'स्थानीय तह सञ्चालनको व्यवस्था अध्यक्ष नहुँदा को हुने भन्ने व्यवस्था छ।' आयोगले स्थानीय सरकार सञ्चालनमा उक्त निर्णयले अवरोध नहुने दाबी गरिरहेको छ। 

स्थानीय तह निर्वाचन ऐनमा योग्यता र अयोग्यता सम्बन्धि व्यवस्था छ। तीनै तहको सरकारको स्वामित्वमा भएको निकायबाट सेवा सुविधा लिइरहेको व्यक्ति पदका लागि अयोग्य हुने व्यवस्था छ।  

एमालेको बुझाइ : निर्वाचन आयोगको गलत मनासय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि राज्यका सबै निकायहरु आफ्नाविरुद्ध लागेको अभिव्यक्ति दिएका थिए। उनले निर्वाचन आयोगले मतपत्रमा चुनाव चिन्ह हरियो रङको बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उक्त विषयलाई हाल भने एमालेले छोडिसकेको छ। एमालेलाई हराउन अनेक षड्यन्त्र भइरहेको एमालेको बुझाइ छ। अहिले पनि धेरै ठाउँमा एमालेका प्रतिनिधि भएको र चुनावमा हारिने डरले सत्ता गठबन्धनले विभिन्न प्रपञ्च गरिरहेको एमालेले आरोप लगाइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell