PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रहरीले पक्रिन थालेपछि के जथाभावी भिडियो हाल्ने युट्युबरहरू सम्हालिन थालेका हुन्?



प्रहरीले पक्रिन थालेपछि के जथाभावी भिडियो हाल्ने युट्युबरहरू सम्हालिन थालेका हुन्?

काठमाडौं : जघन्य प्रकृतिका अपराधका विषयमा युट्युबमा एकपक्षीय हिसाबले सामग्रीहरु अपलोड हुँदा प्रहरीको अनुसन्धान नै प्रभावित हुन जोखिम बढ्दै गएको छ। अनुसन्धानभन्दा पनि डरलाग्दो हिसाबले समाजमा यसको प्रभाव पर्न थालेको छ। कलाकार पल शाह प्रकरणमा युट्युबमा आएका सामाग्री त्यस्तै प्रभावको पछिल्लो उदाहरण हो।

पल शाह प्रकरणमा तनहुँ पुगेर युट्युबरले पीडित नावालिकालाई नै असर पुग्ने समाग्री अपलोड गरे। अनुसन्धानमा रहेका अभियुक्तलाई नै चोख्याउने उद्देश्यले एकपक्षीय भिडियोहरु लगातार अपलोड भइरहे। व्यक्तिको चरित्र हत्या यस्ता सामग्रीमा सामान्य बन्दै गरेको उदाहरण पनि यही प्रकरणले स्थापित गरेको छ। यसरी लान्छनायुक्त र एकतर्फी भिडियो आएपछि प्रशासन सक्रिय भयो। युट्युबमा आएका सामग्रीलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरो जाग्यो। ब्युरोले गालीगलौच र अनुसन्धान प्रभावित गर्ने युट्युबरको भिडियो हेर्दै उनीहरुलाई कारबाहीको दायरामा ल्यायो। प्रहरीले युट्युबरलाई कारबाही गर्न थालेपछि त्यसरी भिडियो अपलोड गर्नेहरु केही हदसम्म हच्किएका छन्।

'अहिले पनि हामीले हेरिरहेका छौं। केही युट्युबरलाई कारबाही गरेपछि यस्ता भिडियो आएको देखिएको छैन। केही समयअघि त युट्युबमार्फत् चरित्रहत्यादेखि अन्य गतिविधि गर्ने सङ्ख्या धेरै नै थियो,' साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले भने।

युट्युबमा आएका सामाग्रीको आधारमा कसरी कारबाही अगाडि बढाउने प्रहरीसँग प्रष्ट कानुन आधार भने छैन। किनकि सोसल मिडिया नियमनका लागि कुनै इकाइको अहिलेसम्म परिकल्पनासमेत भएको छैन। त्यसमाथि यो सोझै वाक स्वतन्त्रतासँग गाँसिएको विषय पनि हो। त्यसैले उजुरी नपरी प्रहरीले युट्युबका विषयवस्तुलाई लिएर कुनै कदम चाल्दैन। पल शाह प्रकरणपछि प्रेस काउन्सिल आफैँले साइबर ब्युरोलाई पत्राचार गर्दै दर्ता नभएका एक दर्जनभन्दा धेरै युट्युब च्यानललाई कारबाही गर्ने सिफारिस गर्‍यो। ब्युरोले कारबाही गर्ने एउटा कडी समात्यो।

उता फागुन २० गते अभिनेत्री रेखा थापाले एक युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिइन्। थापाले ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत् विभिन्न गालीगलौज आएको उल्लेख गरिन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्। थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापा र शर्मिला वाइबा समातिए। वाइबाले युटुबमा कलाकार थापाको चरित्र हत्या गर्ने किसिमले अभिव्यक्ति दिएकी थिइन्।

पल शाहलगायत गम्भीर प्रकृतिका अपराध प्रभावित पार्ने उद्देश्यले पीडितलाई नै मानमर्दन र चरित्र हत्या गरेको भन्दै 'नेपाल मिडिया' युट्युबका सञ्चालक पनि पक्राउ परे। जथाभावी भ्रम फैलाएको भन्दै ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र 'विशाल नेपाल' युटुबका २७ वर्षीय निशान चिलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

साइबर ब्युरोले पछिल्लो समय युट्युबमार्फत् हुने गतिविधिलाई नियालिरहेको छ। ब्युरोले पनि युट्युबमार्फत् हुने गतिवधि बढेको मूल्याङकन गरेको छ। आर्थिक वर्षको आठ महिनामा १४ जना युट्युबर समातिएका छन्। प्रदीप भण्डारी, शिशिर अधिकारी, पिकंकला कार्की, रोधन तामाङ, रामहरि सुवेदी, सन्तोष विश्वकर्मा, भरतबहादुर तिरुवा, रामबहादुर मल्ल, आकास सेडाई, राहुल थापा मागर, मधुसुधन आचार्य र चन्द्रकला राई रहेका छन्।

'केही दिन यता कमी आएको हो। नत्र युट्युबमार्फत् हुने घटनाहरु बढेको देखिन्छ,' एसएसपी अर्यालले भने। ब्युरो स्थापनाको तीन वर्षमा युट्युबर सम्बन्धि ८८ वटा उजुरी परेका छन्। तर, सबैभन्दा धेरै चालु आर्थिक वर्षको आठ महिनामा निवेदन परेको देखिन्छ। आठ महिनाको अवधिमा ३३ वटा युट्युबमार्फत् भएका चरित्र हत्या लगायतका उजुरी रहेका छन्। यसरी परेका उजुरीमार्फत् प्रहरीले अनुसन्धान गरेर ११ वटा मुद्दा अदालतमा दर्ता गराएको छ।

अदालतमा पुगेको मुद्दामा अदालतले २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म धरौटी मागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell