PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट



कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ।

सो अवसरमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जालगायत विभिन्न क्षेत्रमा नर्वेले गरिरहेको सहयोगका लागि धन्यवाद दिए।

कानुनमन्त्री बडूले सरल, सहज, छिटो र गुणस्तरीय रुपमा न्याय सम्पादनका लागि सहकार्यका नयाँ क्षेत्र पहिचान गरेर सँगै काम गर्न सकिने बताए। सुशासन, विद्युतीय शासन, शासनका लाभहरुको अधिकतम वितरण तथा विकेन्द्रीकरणका लागि दुई देशले हासिल गरेका अनुभवहरु एकअर्काका लागि उपयोगी हुने उनले धारणा राखे।

त्यस्तै, राजदूत ड्रम्डलले सबै नागरिकको न्यायमा सहज पहुँच, लोकतन्त्र र सुशासन नेपाल र नर्वेका समान प्राथमिकताका विषय भएकोले यस क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताइन्।

राजदूत ड्रम्डलले विगतदेखि नै शिक्षा, स्वच्छ ऊर्जा, जलविद्युत, नेतृत्व विकास, सिमान्तकृत वर्गको न्यायमा पहुँच अभिवृधि गर्ने लगायतका क्षेत्रमा नर्वे सरकारले विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताइन्।

ड्रम्डलले नेपालमा लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि सरकार र यहाँका राजनीतिक दलहरुले खेलिरहेको भूमिकाको प्रशंसा गरिन्।

भेटमा परराष्ट्र मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell