PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

मस्कोको एक अदालतले 'अतिवादी' को संज्ञा दिँदै फेसबुक र इन्स्टाग्राममाथि लगायो प्रतिबन्ध



मस्कोको एक अदालतले 'अतिवादी' को संज्ञा दिँदै फेसबुक र इन्स्टाग्राममाथि लगायो प्रतिबन्ध
Photo: Dado Ruvić/Reuters

रसियाको एक अदालतले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ। फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी ‘मेटा’लाई ‘अतिवादी’को संज्ञा दिँदै अदालतले सो निर्णय गरेको द गार्डियनले उल्लेख गरेको छ।

मेटामाथि क्रेमलिनको व्यापक नियमनका बिच अदालतको यस्तो निर्णय आएको हो।

मेटाले युक्रेनमा जारी युद्धको प्रतिक्रिया स्वरुप रसियाली सैनिकहरू र भ्लादिमिर पुटिनविरुद्ध घृणायुक्त पोस्टसम्बन्धी आफ्नो नीति खुकुलो पारेपछि फेसबुक र इन्स्टाग्रामको पहुँचमा रसियाले यसअघि नै प्रतिबन्ध लगाएको थियो। 

तर, पछि मेटाले सो नियमहरू युक्रेन भित्रबाट पोस्ट गर्ने व्यक्तिहरूको हकमा मात्र लागू हुने भन्दै आफ्नो निर्णयको बचाउ गरेको थियो।

मस्कोको अदालतले रसियामा व्यापक रूपमा प्रयोग गरिने फेसबुक र इन्स्टाग्रामले ‘अतिवादी गतिविधिहरू संचालन गरिरहेको’ ठहर गरेको छ। तर, मेटाको ह्वाट्सएप मेसेन्जर सेवा भने ‘सूचनाको स्रोत नभई संचारको माध्यम’ भएकाले यसमा प्रतिबन्ध नगरिने अदालतले बताएको छ।

मस्कोमा भएको सोमवारको सुनुवाईको क्रममा रसियाको एफएसबी सुरक्षा सेवाले मेटालाई ‘वैकल्पिक वास्तविकता’को सिर्जना गरेर ‘रसियालीहरूप्रति घृणा जगाउने काम’ गरेको आरोप लगाएको थियो।

‘मेटा संगठनका गतिविधिहरू रसिया र यसका सशस्त्र बलहरूविरुद्ध लक्षित छन्,’ एफएसबी प्रतिनिधि इगोर कोभालेभस्कीले अदालतलाई बताएको रसियाली सरकारी समाचार एजेन्सी टासले उल्लेख गरेको छ।

यसअघि, रसियाले तालिबान, जेहोभास विटनेस र जेलमा परेका क्रेमलिनका विपक्षी एलेक्सेई नाभाल्नीको नेतृत्वमा रहेको संगठन जस्ता समूहहरूविरुद्ध सोही ‘चरमपन्थी कानुन’ अन्तर्गत कारबाही गरेको थियो।

रसियाली सरकारी वकिलहरूले दुई प्रतिबन्धित प्लेटफर्महरूको प्रयोग गर्ने रसियाली नागरिकहरु र संस्थाहरूलाई कारबाही गराउन आफूहरुले नखोजेको अदालतलाई बताएका थिए। लाखौँ रसियालीहरूले भीपीएनको प्रयोग गरेर सोसल मिडिया प्रतिबन्धलाई अवज्ञा गरिरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell