काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राति पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागका अनुसार बिहीवार पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ।